कोरोना संक्रमणबाट हेटौँडाकी एक महिलाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट हेटौँडा उपमहानगरपालिका वडा नम्वर १८ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।
ती महिलाको हेटौँडा अस्पतालमा उपचारको क्रममा आज बिहान ४ मृत्यु भएको हेटौँडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए ।
उनका अनुसार, ती महिलामा गत साउन १३ गते एन्टीजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमित उनलाई उपचारको लागि साउन १४ गते बिहिबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो ।
यससँगै मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४२ जना पुगेको छ । तीमध्ये सबैभन्दा धेरै हेटौँडाका रहेका छन् । हेटौँडामा संक्रमणका कारण हालसम्म १०१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी संक्रमणका कारण थाहानगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपािलकाका ५ जना, बागमती गाउँपालिकाका ४ जना, कैलाश गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ११ जना, भीमफेदी गाउँपालिकाका ५ जना, बकैया गाउँपालिकाका ४ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ ।
