कांग्रेसको महाधिवेशन सार्न पाइँदैन – गगन थापा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको महाधिवेशन सार्न नपाइने भन्दै पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।
वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कांग्रेस नेतृत्वको महाधिवेशन सार्न नहुने बताए ।
उनले कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए ।
उनले भने ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन ।’
अब केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन सकिएको समेत उनले बताए ।
उनले पार्टीको आसन्न १४ औँ महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दबाब दिए । थापाले भने ‘पार्टीको महाधिवेशनको तिथि मिति धेरै तलमाथि गर्न पाइँदैन । संविधानको सो व्यवस्थाअनुसार अब महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले उलङ्घन गर्न मिल्दैन ।’
