ट्युनिसियाका राष्ट्रपति सैयदले गरे प्रधानमन्त्री मेचिचीलाई बर्खास्त, संसद भंग

तु खबर संवाददाता
२०७८ श्रावण ११, सोमबार १०:४२

काठमाडौं । ट्युनिसियाका प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गरिएको छ ।

राष्ट्रपति केस सैयदले प्रधानमन्त्री मेचिचीलाई बर्खास्त गर्नुको साथै संसद समेत भंग गरेका हुन् ।

ट्युनिसियामा केही दिन अघिदेखि कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठिक तरिकाले सन्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन भइरहेको थियो । केही शहरहरुमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।

यहीबीचमा राष्ट्रपति सैयदले आइतबार संसद भंग गरेका हुन् । उनले एक नयाँ प्रधानमन्त्रीको सहयोगमा कार्यकारी अधिकार ग्रहण गर्ने पनि बताएका छन् । उनले आफ्नो यो कदम संवैधानिक भएको जिकीर गरेका छन् ।

सरकारी मिडियामा दिएको एक बयानमा राष्ट्रपति सैयदले भनेका छन्– पाखण्ड, विश्वासघात र जनताको अधिकार लुट्नेहरु र हतियार उठाउने योजना बनाउनेहरु सबैलाई म चेतावनी दिन चाहन्छु । जसले गोली चलाउने छ, उ माथि सशस्त्र बलले पनि गोलीले जवाफ दिने छ ।