मकवानपुरमा वीपीको शालिकमा माल्यार्पण

तु खबर संवाददाता
२०७८ श्रावण ६,बुधबार १२:४३

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले संस्थापक नेता वीपी कोइरालाको ३९ औँ स्मृति दिवस उनको शालिकमा माल्यार्पण गरी मनाएको छ ।

बुधबार कांग्रेस मकवानपुरको पार्टी कार्यालय परिसरमा रहेको वीपीको शालिकमा माल्यार्पण गरिएको हो ।

सोही अवसरमा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका कोइरालाले लोकतान्त्रिक समाजवाद स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

उनले विश्व राजनीतिमा प्रजातान्त्रिक समाजवादी नीतिका लागि वीपीको योगदान अविस्मरणीय रहेको स्मरण गर्दै गरिबको उन्नतिका लागि वीपी चिन्तन अपरिहार्य रहेको बताए ।

सत्तामा रहनेले गरिब, दुखी, किशान, मजदुरको उन्नतिका लागि काम गर्न सक्ने सामथ्र्य नै वीपीको समाजवाद भित्रको सिद्धान्त रहेको उनले बताए ।

लामिछानेले नेपाली राजनीतिमा प्रवेश गरेको विकृति अन्त्यका लागि पनि वीपीवादको विकल्प नरहेको स्पष्ट पारे ।

सोही अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ निवासी गंगा मैनाली कांग्रेसमा प्रवेश गरेकी छिन् । उनलाई कांग्रेस मकवानपुरका उपसभापति विष्णु लामिछानेले माला र टिका लगाई पार्टी प्रवेश गराएका हुन् ।

तस्वीरः कांग्रेस मकवानपुरका नेता तथा कार्यकर्ता वीपीको शालिक अगाडि