हेटौँडाकी शुभद्रासहित चार जना पक्राउ
काठमाडौं । जापान पठाइदिन्छु भन्दै नगद ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले हेटौँडाकी एक महिलासहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई हाल काठमाडौं नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, ईलाम सूर्योदय नगरपालिका–४ श्रीअन्तु घर भई काठमाडौं नयाँबानेश्वर बस्ने भएकी ३३ वर्षीया पुजा राई, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई काठमाडौं कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका–७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसी रहेका छन् ।
उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीहरु सामाजिक संजाल फसबुकमा “टानाकायोका”को नामबाट फेसवुक प्रयोग गरी आफु जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानको नागरिक हो भन्दै पीडितहरुसँग चिनजान गरी जापान जान वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ भनि प्रलोभनमा पारी उक्त नगद विभिन्न बैंक खातामा डिपोजिट गर्ने लगाई जापान नपठाई सम्पर्क विहीन भएका थिए ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
