१९ करोडको चेकसहित ‘मिटरब्याजी’ पक्राउ
काठमाडौं । प्रहरीले चर्को मिटर ब्याजमा पैसा दिएको आरोपमा काठमाडौंको चावहिलबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दोलखाको साविक मेलुङ गाविस वडा नम्बर १ घर भई ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई १९ करोडभन्दा बढीको चेकसहित पक्राउ गरेको हो ।
भक्तपुरको मध्यपुर थिमी बस्ने प्रकाश कार्की र काठमाडौंको कोटेश्वर बस्ने हेमरा गुमाजुलाई व्यक्तिगत कामका लागि उप्रेतीले चर्को मिटर ब्याजमा पैसा दिएको प्रहरीको भनाइ छ ।
उप्रेतीले पटक–पटक गरी कार्कीबाट चार करोड १६ लाख र गुभाजुबाट चार करोड १४ लाख रुपैयाँ रकमका चेकहरु लिई सो वापतको रकम नदिए ज्यान लिने धम्की दिएको पीडितहरुले जाहेरी दिएका थिए ।
उप्रेतीलाई खोजी गर्ने क्रममा शुक्रबार काठमाडौंको चावहिल मित्रपार्कस्थित दृशान्त अटोमोबाइल्सबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।
उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसमेत बरामद गरेको उनले बताए ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
