बागमतीमा दुई पाङ्ग्रे सवारीसाधनको कर बृद्धि

तु खबर संवाददाता
२०७८ श्रावण २,शनिबार १८:०७
file-photo

मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी दुई पाङ्ग्रे सवारीसाधनको कर वृद्धि गरेको छ । मन्त्रालयले मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको कर बृद्धि गरेको हो ।

मन्त्रालयका अनुसार, मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २ सय रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्म कर बृद्धि गरेको हो ।

मन्त्रालयका अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ट्याक्स ३ हजार रुपैयाँ पुर्याइएको छ । यसअघि यस सेग्मेन्टका सवारी साधनको ट्याक्स अधिकतम २ हजार ८ सय रुपैयाँ रहेको थियो ।

यस्तै, १२५ सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ५ हजार रुपैयाँ, १५० देखि २२५ सीसीसम्मकाको ६ हजार ५ सय रुपैयाँ, २२५ देखि ४०० सीसीसम्मकाको अधिकतम ११ हजार रुपैयाँ पुर्याइएको छ भने ४०० सिसीदेखि ६५० र ६५० देखि माथिका सबै खाले मोटरसाइकल तथा स्कुटरको सवारी कर यथावत क्रमशः २० हजार रुपैयाँ र ३० हजार रुपैयाँ नै कायम गरिएको मन्त्रालयले जनाएको छ ।

यसका साथै विद्युतीय सवारी साधनमा ३५० बाटदेखि एक हजार वाटसम्मका सवारीमा २ हजार रुपैयाँ, एक हजारभन्दा माथि १ हजार ५०० वाट सम्मको २ हजार ५ सय रुपैयाँ र १ हजार ५०० भन्दा माथिका सवारीमा अधिकतम ३ हजार रुपैयाँ ट्याक्स कायम गरिएको मन्त्रालयले जनाएको छ ।

यसको अलवा सवारी दर्ता, सरुवा दर्ता तथा सरुवा सहमति दस्तुरमा निजी, सरकारी, संस्थान र सरुवा सहमति दस्तुर बापत समान ५०० रुपैयाँ ट्याक्स लाग्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

सवारी साधन नामसारी गर्दा गरिने सनाखत दस्तुरमा पनि मोटरसाइकल तथा स्कुटरको ५ सय रुपैयाँ नै ट्याक्स लाग्ने मन्त्रालयले जनाएको छ ।

अबिलम्ब शुल्क (फाइन) बापत भने पहिलो ३ महिनाको लागि एक हजार रुपैया लाग्ने र सो अवधि पछि पेश गर्नेलाई २ हजार रुपैयाँ लाग्ने बताएको मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार) ल भने सवारी कर यथावत नै राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*