हेटौँडाबाट ४० किलो गाँजासहित गुरुङ पक्राउ

तु खबर संवाददाता
२०७८ असार ३०, बुधबार १६:२२

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बाट लागूऔषध गाँजा ४० किलोसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्वर ४ बस्ने १९ वर्षीय दिपक गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

आज बिहान विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौँडा–१९ मा मनहरीबाट हेटौँडा आउँदै गरेको ना ६ ख ३७४१ नम्वरको कन्टेनर गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ४० किलो गाँजा बरामद भएपछि गाडिको सहचालक गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गुरुङलाई उक्त गाँजा, गाडीसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*