बाढीपहिरो र डुबानमा परी ५९ जनाको मृत्यु, मकवानपुरका एक जना

तु खबर संवाददाता
२०७८ असार २८, सोमबार १७:४५
file-photo

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ३१ जना पुरुष, १७ जना महिला, ५ जना बालक र ६ जना बालिका रहेको प्रहरीले जनाएको छ ।

तीमध्ये सिन्धुपाल्चोक र तनहुँमा ५/५ जना, डोटी, पाल्पा र गोरखामा ४/४ जना, रोल्पा, दाङ, दार्चुलामा ३/३ जना, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानमा २/२ जना, ललितपुर, सर्लाही, काभ्रे, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा १/१ जना रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये खोटाङमा १ जना र सिन्धुलीमा १ जना रहेका छन् ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ७३ जना घाइते भएका छन् । तीमध्ये ३७ जना पुरुष, १९ जना महिला, १२ जना बालक र ५ जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पा र धादिङमा ६/६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, धनुषा र सर्लाहीमा ४/४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३/३ जना, चितवन, वाग्लुङ, गोरखा, दाङ, जुम्ला, दार्चुलामा २/२ जना, पाँचथर, संखुवासभा, रौतहट, दोलखा, स्याङ्जा, हुम्ला, सल्यान, अछाम, बाजुरामा १/१ जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वतमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

प्रहरीका अनुसार, बाढीपहिरोमा परेका १ हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी (पूर्व) १८ जना, लमजुङ र सल्यानबाट ८/८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*