एमाले कार्यदलको बैठक जारी
नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक अहिले बसिरहेको छ । करिब ३ बजेबाट सुरु भएको एकता कार्यदलको बैठक सिंहदरबारमा जारी छ ।
कार्यदलले शुक्रबारको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सहमति जुटेको र शनिबार मस्यौदा सार्वजनिक गर्ने बताएको छ ।
शुक्रबार करिब सात घण्टा बसेको बैठकले सबै विषयमा सहमति गरिसकेको सदस्यहरूले दाबी गरेका छन् । एमाले प्रवक्ता एवं कार्यदल सदस्य प्रदीप ज्ञवालीले सहमति भइसकेको र भाषागत परिमार्जनको काम मात्र बाँकी रहेको बताएका छन् ।
सहमतिलाई शनिबार अन्तिम रूप दिएर सार्वजनिक गरिने उनको भनाइ थियो । त्यस्तै, कार्यदल सदस्य गोकर्ण विष्टले पनि केही विषय मात्र टुंगिन बाँकी रहेको र ती विषय शनिबार टुंगिने बताएका छन् ।
