हेटौँडाबाट सुधारगृहका संचालक लागूऔषधसहित पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित हेटौँडाका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने ३५ वर्षीय राजिव नरसिंह र सोही नगरपालिका वडा नम्वर ९ बस्ने जोएल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको अनुगमन टोलीले हेटौँडा–९ लामसुरेस्थित रहेको दिपकला प्रतिस्ठान सुधार केन्द्रबाट लागूऔषध गाँजा ३ ग्रामसहित पक्राउ गरेको हो ।
गत असार ११ गते विशेष सूचनाको आधारमा पुगेको टोलीले सोही सुधार केन्द्रका संचालक नरसिंह श्रेष्ठ र उनीसँगै बसिररहेका जोएल श्रेष्ठमाथि शंका लागि चेकजाँच गर्ने क्रममा संचालक नरसिंहले लगाएको पाइनटको खल्तीभित्र प्लास्टिकले बेरी लुकाईछिपाई राखेको २ ग्राम गाँजा र सोही कोठाको फित्तामा झुन्डाईरहेको लेदरको ज्याकेटमा १ ग्राम गाँजा बराम भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक दासले बताए ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
