हेटौंडा बजारमा स्वास्थ्य चौकी भवन बनाएको भन्दै लालझाडीवासीको आपत्ती
मकवानपुर । बजार क्षेत्र केन्द्रीत गरेर स्वास्थ्य चौकी स्थापना गरेको भन्दै हेटौंडा उपमहानगरपालिका वड नम्बर–१ का स्थानीयहरुले नगर प्रमुख हरिबहादुर मतलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
हेटौंडा अस्पताल र अन्य नीजि अस्पतालको बीचमा उपमहानगरपालिकाले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेपछि हेटौंडा–१ नम्बर वडाका विकट क्षेत्रका स्थानीयहरुले मेयर महतलाई ध्यानाकर्षण बुझाएका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा लालझाडी विभिन्न स्थानमा विकट भएकै कारण सामान्य स्वास्थ्य उपचारबाट बञ्चित बन्नुपर्ने अवस्था रहेकाले उक्त स्वास्थ्य चौकी सो क्षेत्रमा स्थापना गर्नुपर्ने स्थानीयहरुको माग छ ।
मेयर महतले गत जेठ २७ गते हेटौंडा–१ जरुवा टोलमा स्वास्थ्य चौकी स्थापनाको लागि भवन निर्माणको शिलान्यास गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका हरेक नागरिको स्वास्थ्य उपचार लगायतका विषयमा गम्भिर रहेको र उक्त स्वास्थ्य चौकी भवन संघीय सरकारको बजेटमा निर्माण भइरहेकाले जरुवा टोलमा निर्माण गरिएको मेयर महतले बताए ।
संघीय सरकारको बजेट भएकाले हेटौंडा अस्पताल नजिक उक्त स्वास्थ्य चौकी निर्माण गरिएको र केही समय पछि अस्पताललाई नै सो स्वास्थ्य चौकी हस्तान्तरण गरिने मेयर महतको भनाई छ ।
स्वास्थ्य चौकी भवन निर्माण नगर्दा बजेट फिर्ता जाने भएकाले अस्पतालको मातहतमा रहने गरी सो स्वास्थ्य चौकी निर्माण गरिएको मेयर महतले बताए ।
हेटौंडा–१ का जनतालाई लक्षित गरी नकौलीमा विगत ३ वर्ष अगाडी नै स्वास्थ्य चौकी भवन निर्माण गरी सेवा दिइरहेको उनले बताए ।

