वैद्यको अभिव्यक्तिविरुद्ध ओली पक्षका विद्यार्थीको प्रदर्शन
हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो प्रदेशसभामा व्यक्त गरेको अभिव्यक्ति विरुद्ध आज प्रदेशसभा अगाडि नेकपा एमाले ओली पक्षका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
आज बिहान हेटौंडाको बुद्धचोकबाट नारा जुलुस सहित विद्यार्थीहरु प्रदेशसभा अगाडि पुगेका छन् । बिहानैदेखि उनीहरुले वैद्यलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरुले वैद्यको पुत्ला समेत जलाएका छन् ।
सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कोही ‘नाथुराम गोड्से’ हुन सक्ने चेतावनी दिएका थिए । अरु तयार नभए आफैसमेत उक्त भूमिका निर्वाह गर्न तयार रहेको उनको अभिव्यक्ति थियो ।
नेपाली काँग्रेसले हिजै विज्ञप्ती निकालेर वैद्यलाई आत्मआलोचना गर्न निर्देशन दिइसकेको छ । नेता इन्द्र बानियाँले वैद्यले व्यक्त गरेको धारणा संसदीय मर्यादा विपरित भएकाले सो भनाइबारे आत्मआलोचना गर्न भनेका छन् ।
वैद्यले पनि आफूले व्यक्त गरेको धारणाका बारेमा संसद्बाटै माफी माग्ने जनाएका छन् । आज बस्ने प्रदेशसभाको वैठकमा माफी माग्ने उनले बताएका छन् ।

