फुर्सद, अध्ययन र आलोचना

सञ्जय मित्र
२०७८ जेष्ठ २२,शनिबार १८:२९

कोरोनाकालले धेरैतिर विनाश निम्त्यायो । अघोषित नै भए पनि यो स्वास्थ्य संकटकाल हो । यसले स्वास्थ्यका साथै शिक्षा, अर्थ, रोजगार र जनजीवनलाई नराम्ररी प्रभावित पार्यो । ग्रामीण कृषिमा उति धेरै प्रभाव पार्न नसके पनि पूर्ण रूपमा अप्रभावित छ भन्ने होइन । कृषि उपज मुख्य गरी धेरै समय नटिक्ने हरियो तरकारी, दूधजस्ता उत्पादन खेर गएको देखिएको छ ।

कोरोनाकालले मानिसलाई चाहेर वा नचाहेर घरमा बस्न बाध्य बनायो । मुख्य गरी सहर, बजार र काँठ क्षेत्रका बासिन्दालाई घरभित्र आफ्नो दैनिक गतिविधिलाई सीमित बनायो । घरभित्र सीमित रहेर दिनभरि के गर्ने ?

बाहिर कर्फ्यू छ । सदैव प्रहरीको उपस्थिति नरहे पनि आफ्नो नैतिकता छ जसले घरबाहिर बिना काम निस्किन रोकेको छ । अर्को महत्वपूर्ण कुरा त को संक्रमित छ र कतिखेर कसबाट कहाँ संक्रमित होइएला भन्ने डर पनि छ किनभने संक्रमित भएको केही दिनसम्म संक्रमितलाई नै थाहा नहुने तर तिनले अरूलाई रोग सार्ने हुन्छन् । कतिपय त यस्ता संक्रमित पनि देखिए जो होम आइसोलेसनमा बसेको भनिएको छ तर बजारमा डुलिरहेका छन् । यस्ताहरुबाट पनि जोगिनु छ ।

विश्वलाई नै थर्काएको कोरोनाको डरले घरभित्र समयको व्यवस्थापन ज्यादै जटिल बन्न पुग्यो धेरैका लागि । दिनभर कति टिभी मात्र हेरिरहने ? टिभीमा के हेर्ने दिनभर ? मोबाइलमा फेसबुक लगायतका सामाजिक सञ्जाल चलाउन अरुबेला खासै फुर्सद नहुनेहरुलाई पनि मोबाइलमा अल्झिरहन दिक्क लाग्न थाल्यो ।

कतिपयले त समयप्रति व्यंग्य गर्दै यस्तो पनि अभिव्यक्ति दिए : पहिले काम गर्दागर्दै थकाइ लाग्थ्यो अनि आराम गरिन्थ्यो तर अहिले त आराम गर्दागर्दै थकाइ लाग्छ, आराम पनि कति गर्ने ? आराम गर्न पनि अल्छी लाग्छ । अल्छी कसरी भगाउने ?

वास्तवमा निरन्तर घरबाहिर काम गर्नेहरुलाई भने घरभित्र समय व्यवस्थापन ज्यादै जटिल भएको देखिएको छ । अझ त्यस्ता मानिस जो लेखपढमा त्यत्ति रुचि राख्दैनन् । लेखपढमा रुचि राख्नेले त यस कोरोनाकाललाई पनि अध्ययन, लेखन तथा परिमार्जनमा खर्च गरेका छन्, गरिरहेका छन् । समय बिताउन उत्ति धेरै गाह्रो भएको देखिएको–सुनिएको छैन ।

पहिलेदेखि पछि पढ्छु भनेर घरमा थन्क्याएर राखिएका कतिपय गहन पुस्तकहरूको अध्ययन धेरैले गरेका छन् । वास्तवमा अध्ययन र लेखनभन्दा समय व्यवस्थापनको दृष्टिकोणले घरभित्र अन्य कुन काम हुन सक्ला ?

अध्ययन किन गर्ने ?

अध्ययनको महत्व त अध्ययन गर्नेलाई मात्र थाहा हुन सक्छ । जसले अध्ययन गर्दैन वा जसको अध्ययनमा रुचि नै छैन । जसले अध्ययनको महत्व नै बुझ्दैनन् र जसलाई अध्ययन मन पर्दैन तिनका लागि त जस्तोसुकै ज्ञानगुनका कुराको पुस्तक पनि काला अक्षर भैंसी बराबर भनेझैँ सामान्य लाग्दछ, साधारण लाग्दछ । यसको यो कारण पनि हो कि ऊ सामान्य वा साधारण मानिसमात्र हो अध्ययनको दृष्टिले । उसलाई कुनै विशिष्ट जानकारी छैन वा विशिष्ट जानकारीको अभावमा रमाउने मानिस हो । अझ उसको रुचि के हो भन्ने नै छैन । आफूलाई चिन्न नै सकेको छैन । जसले आफूलाई चिन्न सक्दैन, उसलाई आफ्नै क्षेत्रको अध्ययन गर्न मन लाग्दैन । उसले अध्ययन गर्दैन ।अध्ययनको कुनै सीमा हुँदैन । यसकारण आफूलाई चाहिने अध्ययन त गर्नैपर्छ । हो, आफ्नो तर्क क्षमता बढाउन, आफूलाई अझ आधिकारिक बनाउन, आफ्नो रुचि भएको क्षेत्रको विशिष्ट व्यक्तित्व बन्न, आफूलाई मन नपरेको विषयमा अझ कट्टर आलोचक बन्न पनि अध्ययन चाहिन्छ । अध्ययनले आलोचना गर्ने तथ्य, तर्क र क्षमता सबै दिन्छ । तथ्य र तर्क दुवैको आधारमा आफूलाई कतै स्थापित गर्न सजिलो हुन्छ । जहाँ तथ्य र तर्क हुँदैन, त्यहाँ अरुको सुनेर होमा हो मिलाउनु पर्ने अथवा कसैको पछि लागेर त्यसको विरोध गर्नुपर्ने हुन्छ । किन विरोध गरेको हो ? वा किन आलोचना गरेको हो ? भन्ने कुराको अन्तर्य कसैमाथि निर्भर हुन्छ । भगवान गौतम बुद्धले भनेका छन् : अप्पो दीपो भवः ।

आफूलाई प्रकाशवान बनाउनु भनेको यही त हो नि । कसैलाई जानकार बनाउने दुई परम्परागत रीति छन् : अध्ययन र व्यवहार । कि त पढेर जानिन्छ कि त परेर । अब जब घरबाहिर जानु नै छैन भने कहाँ र कसरी व्यवहारमा परेर जान्न सकिन्छ त ? यसको लागि त फुर्सदको समयलाई पढ्न अर्थात् अध्ययनमा उपयोग गर्न सकिन्छ ।

यसरी पनि बुझौं न । तपाईँलाई सबैभन्दा मन नपर्ने विषय वा क्षेत्र कुन हो ? मन नपर्ने जे पनि हुन सक्छ । मन नपर्ने कारण पनि हुन सक्छ तर किन मन नपरेको हो र अझ मन पर्दै नपरेको विषयलाई अझ धेरै मन नपराउन पनि यदि आवश्यक छ भने पनि अध्ययन गर्नुपर्ने हुन्छ । जुन कुरा फिटिक्कै मन पर्दैन, त्यसका अझ कडाभन्दा कडा आलोचनाहरु बटुल्न र खरो आलोचक बन्न पनि अध्ययन नै गर्नुपर्ने हुन्छ । आजसम्म जुन क्षेत्रका जो आलोचक, समालोचक वा कट्टर विरोधी भनी चिनिएका छन्, तिनले ती क्षेत्रको बारेमा अत्यन्त धेरै अध्ययन नै गरेका छन् र अध्ययनकै बलले अरुलाई बोल्न दिएका छैनन् अर्थात् आफ्नो आधिपत्य स्वीकार गर्न लगाएका छन् ।

अध्ययनको महत्व यस मानेमा पनि रहेको छ कि यसले कसैलाई कहिल्यै कुनै बिगार गर्दैन । अध्ययन गर्ने कृति चाहिँ सर्वस्वीकृत हुनुपर्छ । यहाँ सर्वस्वीकृतको अर्थ यो हो कि घरमा कोहीसित नलजाई वा नलुकाई सबैले देखिने वा पढ्न सकिने किसिमको हुनुपर्छ । कहिल्यै कुनै बिगार नगर्ने र सदैव ज्ञानको वृद्धि गर्ने अध्ययन भन्दा अन्य कुनै पनि काम यस प्रकारको समयलाई बिताउने महत्वपूर्ण साधन हुन सक्दैन । कतिपयले त अध्ययनलाई साध्य र साधन दुवै मानेका छन् ।

हुन सक्छ, अध्ययन केवल ज्ञानका लागि हो भने साध्य हो र अध्ययनको ज्ञानबाहेक अन्य प्रयोजन हो भने साधन पनि हो ।

अध्ययन सीमाहीन यात्रा हो तर यो गन्तव्यहीन भने होइन । गन्तव्यहीन यात्रीलाई पनि अध्ययनले गन्तव्य प्रदान गर्न सक्छ । अध्ययनको गन्तव्यले पहिचान दिन्छ र परिचय स्थापित गर्दछ । यसकारण पनि आलोचकसमेतले अध्ययन गर्नुपर्छ र अध्ययन गर्नैपर्छ ।

पहिले अध्ययनको महत्व नबुझ्नेले पनि अध्ययन गर्दै जाँदा यसको महत्व बुझ्न सक्छन् र यसलाई हृदयदेखि आत्मसात गर्न सक्छन् । अध्ययन गर्न चुकेकामा बितेको अध्ययनहीन समयप्रति पछुतो अर्पण गर्न सक्छन् । अध्ययनको भोकको बिरुवा जब मनको बारीमा उम्रन्छ तब एकपछि अर्को असल कृति अध्ययनको पुष्पहरु पुष्पित हुन्छन् र त्यसको सुगन्धले स्वसुवासित हुन थाल्छ पठन र लेखन । अध्ययनले प्रकाशमय बनाउने निश्चित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*