सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्दै

तु खबर संवाददाता
२०७८ जेष्ठ १२,बुधबार १२:४९

सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी उक्त कम्पनीसँग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । मंगलबार बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

आ—आफ्नो विशेष साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिने जनाइएको छ । दुवै बैंकले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी यसै आर्थिक वर्ष २०७७र०७८ भित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको बैंकले जनाएको छ । २०७८ साल जेठ ९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ ।

प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*