यज्ञोपवीत क–कसले धारण गर्न सक्छन् ?

सञ्जय साह मित्र
२०७८ जेष्ठ ८,शनिबार २२:३६

सामान्यतया तागाधारी भनेर मधेसमा भुराबाला बुझिन्छन् । भु बाट भूमिहार, रा बाट राजपुत, बा बाट बाहुन र ल बाट लालाजी अर्थात् कायस्थ । यो वर्तमानको अवस्था हो ।
यहाँ तागाको अर्थ जनेऊ हो । जनेऊ भनेको काँधमा भिर्ने धागो हो । सामान्य बुझाइको लागि मात्र यसरी भनिएको हो ।

संस्कृतमा जनेऊलाई यज्ञोपवीत भनिएको छ । यज्ञोपवीत धारण गराउने संस्कारलाई उपनयन संस्कार भनिएको छ । हिन्दु धर्ममा भनिएका सोर संस्कारमध्ये एक उपनयन संस्कार हो ।
मधेसी लोकजीवनमा उपनयन संस्कारलाई कतिपयले दोस्रो जीवनको रुपमा पनि स्वीकार गरेको पाइन्छ र अहिलेसम्म उपनयन संस्कारलाई अत्यन्त उच्च महत्व दिइएको पाइन्छ ।

जनेऊ धारण गरेकै भरमा कतिपयले आफूलाई जनेऊ धारण नगरेको भन्दा श्रेष्ठ मान्दछन् । र, सामान्य बुझाइमा जनेऊ धारण नगर्ने जातिले जनेऊ धारण गर्ने जातिलाई सम्मान गर्नुपर्दछ भन्ने धारणा रहेको छ । यस दृष्टिकोणमा जनेऊ धारण गर्नेभन्दा जनेऊ धारण नगर्ने स्वाभाविक दोस्रो दर्जाको मानिस हुन जान्छ ।

जनेऊ धारण गर्ने वा नगर्ने अहिले वैयक्तिक स्वतन्त्रताको कुरो भइसकेको छ । सम्भवतः यो वैयक्तिक स्वतन्त्रता अनादिकालदेखि नै चलिआएको छ ।

हिन्दू धर्मले मुख्यतः चार जात मानेको छ : ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र ।

हिन्दु समाजमा सबैभन्दा बढी आलोचनाको ग्रन्थ भनेर मनुस्मृतिलाई मानिएको छ । यस ग्रन्थले नै हिन्दु समाजमा जातिको बिजारोपण गरिएको मानिएको छ । यस कृतिले महिलालाई धेरै हेपेको तथा शूद्रलाई धेरै हेपेको आरोप रहेको छ । यहाँ यस विषयमा चर्चा गर्न खोजिएको होइन तर मनुस्मृतिमा ब्राह्मण, क्षत्रिय तथा वैश्यले पनि जनेऊ लगाउन सक्छन् भनिएको विषयमा त्यसै ग्रन्थबाट केही दृष्टान्तहरू प्रस्तुत गर्न खोजिएको छ ।

गर्भाष्टमेऽब्दे कुर्वीत ब्राह्मणस्योपनायनम् ।
गर्भादेकादशे राज्ञो गर्भात्तु द्वादशे विशः ।।

मनुस्मृतिको द्वितीय अध्यायमा श्लोक ३६ हो यो । यस श्लोकको भावार्थ हो : ब्राह्मणको उपनयन–संस्कार गर्भबाट आठौँ वर्ष, क्षत्रियको गर्भबाट एघारौँ वर्ष तथा वैश्यको गर्भबाट बाह्रौं वर्षमा गर्नुपर्छ ।
यस श्लोकले मधेसमा भुराबाल तथा पहाडमा बाहुन–क्षेत्रीको मात्र उपनयन–संस्कार हुन्छ भन्ने भ्रमलाई एकातिर तोडेको छ भने अर्कोतिर कतिपयले यस तथ्यलाई लुकाएर जानाजान कसैलाई होच्याउने तथा कसैलाई उचाल्ने गरेको तथ्यमाथि पनि प्रकाश पारेको छ ।

त्यसै पनि जुनसुकै जातिका होऊन् यदि साधु अर्थात् ऋषि हुन्छन् भने उनले जनेऊ धारण गर्न पाउँछन् । तर गृहस्थ जीवनमा भने यसरी गर्न नपाउने सामाजिक बुझाइ रहेको छ ।
मनुस्मृतिले अन्तिम कति वर्षको उमेरसम्म उपनयन–संस्कार गर्न सकिन्छ भन्ने प्रश्नको पनि जवाफ दिएको छ :

आषोडशाद्ब्राह्मणस्य सावित्री नातिवर्तते ।
आद्वाविंशात् क्षत्रबन्धोराचतुर्विंशतेर्विशः ।।

द्वितीय अध्यायकै श्लोक ३८ हो यो । यसको भावार्थ यस्तो छ ः सोर वर्षसम्म ब्राह्मणलाई, बाइस वर्षसम्म क्षत्रियलाई र चौबिस वर्षसम्म वैश्यलाई सावित्रीको अतिक्रमण हुँदैन अर्थात् यस अवस्थासम्म उपनयन–संस्कार हुन सक्छ ।

मनुस्मृतिले जनेऊ केको हुनुपर्ने, कस्तो हुनुपर्ने आदि विषयमा पनि स्पष्ट व्याख्या गरेको छ । यसै गरी यज्ञोपवित संस्कारको समय ब्राह्मण, क्षत्रिय तथा वैश्यले पहिले कोसित भिक्षा माग्ने वा नभएमा के गर्ने आदि विषयमा पनि स्पष्ट उल्लेख गरेको छ । कसरी भिक्षा माग्ने यस विषयमा पनि बोलेको छ । यसै गरी यज्ञोपवितमा कुन जातले केको लट्ठी बोक्नेजस्ता मसिनो विषयमा पनि तर्क अघि सारेको छ । द्वितीय अध्यायकै श्लोक ४९ मा भनिएको छ :

भवत्पूर्वं चरेद् भैक्षमुपनीतो द्विजोत्तमः ।
भवन्मध्यं तु राजन्यो वैश्यस्तु भवदुत्तरम् ।।

अर्थात् यज्ञोपवीत भएको ब्राह्मणले भवत् शब्दलाई पहिले बोलेर, क्षत्रियले भवत् शब्दलाई मध्यमा बोलेर र वैश्यले भवत् शब्दलाई अन्तमा बोलेर भिक्षा माग्नु पर्दछ जस्तै : ब्राह्मणले भनून् – भवति भिक्षां देहि । क्षत्रियले भनून् – भिक्षां भवति देहि तथा वैश्यले भनून् – भिक्षां देहि भवति ।

यज्ञोपवीतको सम्बन्धमा कतिपय प्रसंगमा कुनै पनि जातिमा कुनै पनि किसिमको भेद नहुने बताइएको छ । कुन काँधमा जनेऊ हाल्ने तथा जनेऊमा कतिवटा धागो हुनुपर्ने भन्ने विषयमा मनुस्मृतिमा विभेद गरिएको छैन जबकि व्यवहारमा ठाउँअनुसार र जातिअनुसार विभेद हुने सुनिन्छ ।

यज्ञोपवीतसित सम्बन्धित धेरै कुराहरु मनुस्मृतिमा उल्लेख छन् । सबै अहिले सान्दर्भिक नै छन् भन्ने होइन तर परम्परा र संस्कृतिलाई पूर्ण रुपेण बुझ्न चाहनेहरुका लागि यो ग्रन्थ निकै महत्वपूर्ण रहेको छ ।
मनुस्मृतिको आलोचना जति गरिन्छ, मलाई के लागेको छ भने आलोचना गरिएभन्दा कम चाहिँ व्यवहारमा पालना गरिएको छ र कतिपय सन्दर्भमा यसमा उल्लेख गरिएको भन्दा धेरै कडाइका साथ नियम पालना गरिएको पनि पाइन्छ व्यवहारमा ।

मनुस्मृतिको किन यत्ति धेरै आलोचना हुन्छ ? धर्म, संस्कृति, जाति वा अन्य केही प्रसंग चल्दा किन मनुस्मृतिको चर्चा आइहाल्छ ? यसै प्रश्नको उत्तरको खोजीमा मैले यो कृति पढ्न उत्प्रेरित भएको छु । मनुस्मृतिलाई अध्ययन गर्दै जाँदा कतै आलोचना वा समर्थनमा लेखिएको लेख पढेर मनुस्मृतिको बारेमा बोल्नु वा लेख्नुभन्दा यो कृति एकपटक सबैले पढ्नुपर्ने आवश्यकता रहेको छ ।

म मनुस्मृतिको सम्पूर्ण विचारप्रति सहमत छु भन्न खोजेको होइन । यस कृतिको विचारप्रति म पूर्ण असहमत छु भन्ने पनि होइन । यस कृतिमा धेरै काम लाग्ने काम लाग्ने कुराहरु पनि रहेका छन् । धर्म, संस्कृति तथा अन्य पक्षको आलोचना वा समर्थन जे गर्न भए पनि यस कृतिको अध्ययन गर्नु आवश्यक छन् ।

विश्वका शक्तिशाली व्यक्तिमध्ये एक भगवान मानिएका श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश गीतामा पनि भनेका छन् : स्मृतिहरूमा म मनुस्मृति हुँ ।

मनुस्मृतिमा अनगिन्ती पक्ष छन् । समय र सन्दर्भअनुसार कहिलेकाहीँ मनुस्मृतिका केही पक्षलाई लिएर उपस्थित हुनेछु । मनुस्मृति अध्ययन गर्न नसकेका पाठकलाई भने यसबाट लाभ हुने विश्वास राख्दै विज्ञ पाठकबाट सम्भव भएको प्रतिक्रियाको अपेक्षा पनि राखेको छु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*