कसले पाउलान् प्रधानमन्त्रीमा नियुक्ति ?

तु खबर संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १८:२२
file-photo

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि दलहरुलाई दिएको समय सकिएको छ ।

उनले नयाँ सरकार गठनको लागि शुक्रबार साँझ ५ बजेसम्मको लागि समय दिएकी थिइन् ।

प्रधानमन्त्रीको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र, एमालेकै माधव नेपाल पक्षका सांसद्हरु र जसपाको उपेन्द्र–बाबुराम पक्षका सांसद्लाई साथमा लिएर प्रधानमन्त्रीको लागि दावी पेश गरेका छन् ।

उनले १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष पेश गरेका छन् । त्यस्तै प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपी ओलीले फेरि दावी प्रस्तुत गरेका छन् । उनले आफ्नो पक्षमा १५३ सांसद रहेको दावी गरेका छन् ।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको छ ।

अब राष्ट्रपतिले देउवा वा ओली कसलाई नियुक्त गर्ने भन्नेमा निर्णय लिनुपर्ने हुन्छ ।

ओलीले एमालेका सबै १ सय २१ जना सांसदहरु रहेको दाबी गरेका छन् । जबकि उनकै दलका बरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी नेताहरुसँग शीतलनिवासमै राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् ।

माधव पक्षका सांसदहरुले विपक्षी गठबन्धनमा हस्ताक्षर गरिसकेकाले ओलीसँग १२१ सांसद नरहेको कागजबाटै पुष्टि हुने कुरा हो ।

संविधानको धारा ७६ (५) ले दलगत रुपमा नभएर व्यक्तिलाई मात्रै चिन्ने संविधानविदहरुले बताउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*