राष्ट्रियसभा उपनिर्वाचनः उम्मेदवारीमाथि पुर्नविचार हुँदैन–डा. देवकोटा

तु खबर संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १३:३३

मकवानपुर । राष्ट्रियसभा सदस्य पदका उम्मेदवार डा. खिमलाल देवकोटाले मुलुकको प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन आफुलाई रहेकोले उम्मेदवारी कायम रहने बताएका छन् ।

नेकपा एमालेको माधव नेपाल निकट मानिने डा. देवकोटाले आफुलाई एमालेका नेता तथा कार्यकर्ताले पनि पूर्ण विश्वास र सदभाव राख्ने भएकोले दिएको उम्मेदवारीमाथि पुर्नविचार गर्ने कुरा कल्पना भन्दा बाहिर भएको बताए ।

बिहिबार एमालेका अध्यक्ष केपी ओली र बरिष्ठ नेता नेपाल पार्टी एकताको पक्षमा उभिएपछि राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा देवकोटा कमजोर हुने आंकलन गरिएको छ । नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवारको रुपमा अघि बढाएको छ ।

तु खबरसँग कुराकानी गर्दै डा. देवकोटाले राजनीतिक घटनाक्रमका कारण आफ्ना अभिभावक, शुभचिन्तक एवं मतदाताहरुले उम्मेदवारीको विषयमा जिज्ञासा राख्नु स्वभाविक भएको र आफ्नो उम्मेदवारी कायम रहने प्रतिक्रिया दिए ।

‘मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन । राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ, । यसमा विवाद हुन सक्दैन । तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।’ उनले भने ।

उनले निष्ठा र ईमान्दारिताको राजनीतिप्रति आफ्नो गहिरो लगाव भएको र राजनीतिक दलहरुले आफुलाई गरेको भरोसाप्रति उच्च सम्मान रहेको बताए ।

उनले सवै मतदातालाई उत्साहका साथ चिर्वाचनमा सहभागि हुन आग्रह गरे ।

निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दिएका छन् ।

आगामी जेठ ५ गते हुने निर्वाचनमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी २३८ जना र बागमती प्रदेशसभा सदस्य १ सय १० जनामध्ये १ सय ९ जना मतदान प्रक्रियामा सहभागि हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*