एमाले मकवानपुरद्वारा प्रदेशसभा उम्मेदवारको नाम सिफारिस

तु खबर संवाददाता
२०७९ भाद्र १८, शनिबार १०:३१
नेकपा एमाले प्रदेश सभा समन्वय कमिटी मकवानपुर–२ (क) को बैठक ।

मकवानपुर । आसन्न निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले चारै प्रदेशसभा निर्वाचन क्षेत्रको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । शुक्रबार मकवानपुर जिल्लाका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक उम्मेदवारको नाम सिफारिस गरिएको पार्टी जिल्ला सचिव नवीन सिग्देलले जानकारी दिए ।

उनका अनुसार, केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको परिपत्रअनुसार उम्मेदवारको नाम सिफारिस गरिएको हो । जिल्लामा प्रदेशसभा सदस्य निर्वाचित हुने ४ सिटका लागि २२ जनाको नाम सिफारिस गरिएको पार्टी सचिव सिग्देलले बताए ।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) बाट अणराज जर्गा मगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ, कृष्णप्रसाद चौलागाईं, कमल बिष्ट, नारायण सापकोटा, दीपक न्यौपाने र सीता बिष्टको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्वर १ कै प्रदेशसभा (ख) बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकालाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक, कुमार केसीको नाम सिफारिस गरिएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) बाट बलराम बल, विष्णु ढकाल र चमेली बलको नाम सिफारिस गरिएको छ भने प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्काकोे नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको सिफारिसमा भदौ १९ गते बस्ने जिल्ला सचिवालय र भदौ २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझावसहित प्रदेश कमिटीमार्फत् केन्द्रीय कमिटीमा नाम सिफारिस गरेर पठाइने सचिव सिग्देलले जानकारी दिए ।