मकवानपुरमा ३२ सय सुरक्षाकर्मी खटाइयो, मतदाता परिचयपत्र वितरण कार्य जारी
मकवानपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा ३ हजार २ सय सुरक्षाकर्मी खटिएका छन् । निर्वाचनलाई सुरक्षित तवरबाट सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिएका छन् ।
निर्वाचन सुरक्षाका लागि १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना र नेपाल प्रहरी ९ सय जना खटाइएको उनले बताए ।
मतदान केन्द्रभित्र सुरक्षाको लागि प्रहरी खटाइने र बाहिर सुरक्षाको लागि नेपाली सेना खटिने उनको भनाई छ । जिल्ला सुरक्षा समितिले जिल्लामा रहेका १६५ वटा निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाएको छ । जिल्लाका १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र ८६ वटा सामान्य गरी तीन भागमा मतदानस्थललाई विभाजन गरिएको जनाइएको छ ।
जिल्लाको राक्सिराङ, कैलाश, बागमती र बकैया गाउँपालिकाको केही स्थानलाई अतिसंवेदनशीलमा राखिएको छ । यसपटकको निर्वाचनमा एउटा निर्वाचनस्थल थपिने भएको छ । जिल्लामा ३ सय ५९ वटा निर्वाचन केन्द्र रहेका छन् ।
आयोगले आजैबाट सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिरहेको छ । आज र भोलि परिचयपत्र वितरणको कार्य संचालन हुने जनाइएको छ । शुक्रबार भने विहान ७ बजेदेखि मतदान प्रक्रिया आरम्भ हुनेछ ।
