कोरियामा बसोबास गर्ने विदेशीलाई कोभिड–१९ परीक्षण गर्न निर्देशन
सउल । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई स्थानीय सरकारले अनिवार्य रूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ ।
स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो ।
स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण नगरे २० देखि ३० लाख कोरियन वनसम्म जरिवाना तिर्नुपर्ने हुनसक्ने बताइएको छ ।
पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केही कम्पनीमा कार्यरत विदेशी कामदारमा सामूहिक सङ्क्रमण देखा परेपछि स्थानीय सरकारले सो नियम ल्याएको हो ।
ख्याङ्गिदो प्रान्तमा २५ हजार रोजगारदाताले विदेशी कामदार राखेको अनुमान गरिएको छ । व्यवसायको हकमा कम्पनीमा कम्तीमा एक विदेशी कामदार रहे पनि मार्च २२ सम्म अनिवार्य रूपमा कोरोना परीक्षण गरेको हुनुपर्ने निर्देशन गरिएको छ ।
हालसम्मको तथ्याङ्कअनुसार कोरियाको ख्याङ्गिदो प्रान्तमा रहने एक हजार ७ सय ४७ विदेशीले कोभिड–१९ परीक्षण गरेका छन् ।
