भीम रावललाई ओलीको आग्रहः कुन पार्टीको प्रधानमन्त्री हो भन्ने जानकारी लिन सर्वोच्च जानुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन् ।
सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले ’प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्न गरेका थिए ।
प्रधानमन्त्री ओलीले रावललाई जवाफ दिँदै भने, ‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन ।’ उनले उल्टै रावललाई प्रश्न गरे, ‘मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने ।’
सर्वोच्च अदालतले आइतबार आधिकारिक नेकपा ऋषि कट्टेलको हो भनेपछि साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।
