‘चन्द्रोदय प्रभा’ र ‘… स्वयम्भू’ – दुई उपलब्धि : एक दृष्टि
सञ्जय मित्र
मकवानपुरे साहित्य किन आशावादी छ भने त्यहाँ बालबालिकालाई निरन्तर सक्रिय बनाइरहने तथा प्रोत्साहन गर्ने क्षमताका केही धनी व्यक्तिहरु छन् । पचासको दशकबाट यसको औपचारिक सुरुआत भएको देखिन्छ र अहिलेसम्म यसले विस्तार पाउँदै गएको देखिएको छ । विभिन्न विद्यालय तथा औपचारिक संस्थाहरुबाट बालसाहित्यलाई प्रोत्साहन र प्रवद्र्धनका लागि निरन्तर सक्रिय र सकारात्मक पहल हुँदै आएका छन् । यसै क्रममा बालसाहित्यलाई प्रवद्र्धन गर्न एक सामुदायिक एक संस्थागत विद्यालयले प्रकाशन गरेको दुई कृतिको यहाँ सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका ८ बहादुरगञ्जमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयले प्रकाशित गरेको ‘चन्द्रोदय प्रभा’ र हेटौँडा उपमहानगरपालिका १८ मा रहेको मकवानपुर बाल विद्या सदनले प्रकाशित गरेको ‘स्पार्कल फ्रम स्वयम्भू …’ गरी दुवै कृति मकवानपुरे बालसाहित्यको क्षेत्रमा मात्र नभई समग्र साहित्यिक क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि हो । मकवानपुरमा कसरी भविष्यका कर्णधार तयार हुँदैछन् भन्ने दृष्टान्त हो ।
‘चन्द्रोदय प्रभा’ का सम्पादक रमेशमोहन अधिकारी हुन् । अधिकारी त्यस्ता आमा हुन् जो निरन्तर साहित्यकार जन्माइरहन्छन् । कर्मक्षेत्रमा साहित्यकार जन्माउनु अधिकारीको ठूलो धर्म भएको छ । अधिकारी जहाँ जहाँ पुगे, साहित्यका फूल पारे, बच्चा कोरले, स्याहारे र हुर्काए । दृष्टान्तहरु मकवानपुरे साहित्येतिहासका स्वर्णिम पानामा सुरक्षित भएका छन् । यस्तै उपक्रमको ‘चन्द्रोदय प्रभा’ शृङ्खलामा दर्जनौ बालबालिकाको प्रतिभा आलोकित भएको छ । प्रतीक्षा खतिवडाको मेरो बाबा शीर्षकमा कविता रहेको छ, यसै गरी सङ्गीता लामा, दीपिका गिरी, निरज नेपाल, अदिति खनाल, कृतिका सिकारी, माधव पुडासैनीका कविताहरु क्रमश आएका छन् । कृतिमा पुष्पा राउत, कञ्चन भुजेल, रोशनी यादव, विद्या घिमिरे, देवी ढुङ्गेल, करुणा भुजेलका पनि विभिन्न शीर्षकका कविताहरु सङ्गृहित छन् ।
‘चन्द्रोदय प्रभा’भित्र अनिशा अधिकारी, मेनुका अधिकारी, स्मृति बन्जारा, आयुषा पोखरेल, प्रतिभा खतिवडा, मनीषा तिमल्सिना, सविता दङ्गाल, प्रेना तामाङ, प्रतिमा पौडेल, सम्झना कार्की, कविन कोइराला, सुजता गौतम, अभिषेक जमरकट्टेल, राजु गैरे, मनोज तिमल्सिना, सामना थपलिया, स्नेहा बलका कथाहरु पनि देखिन्छन् ।
कृतिमा स्नेहा रिमाल, आकृति भन्डारी, सतिश पान्डेय, उज्ज्वल बराल र सन्देश भट्टराईका अङ्ग्रेजी भाषामा लेखिएका कविता तथा कथाहरू समेटिका छन् ।
लोकछन्द, शास्त्रीय छन्द तथा मुक्त छन्दमा लेखिएका कविताहरुमा बालबालिकाको बेजोड प्रतिभा देख्न सकिन्छ । कथाहरु पनि सुन्दर छन् । यस कृतिबाट बालबालिका मात्र नभएर आफूलाई साहित्यको सिद्धहस्त मान्नेहरुले पनि सिक्नुपर्ने कुराहरु धेरै लिन सक्ने छन् । यस अर्थमा पनि यो कृतिको मूल्य निकै ठूलो रहेको छ ।
कृतिमा कविता तथा कथाको भावअनुसार अविनाश चौधरीले चित्र बनाएर कृतिलाई थप बोधगम्य तथा रोचक बनाएका छन् ।
प्रधानाध्यापक दिपुकुमार थापाले विद्यालयको अतिरिक्त क्रियाकलापमध्येको एउटा पाटोलाई टेवा दिएको बताएका छन् भने सम्पादकीयमा अधिकारीले यस कृतिको प्रकाशन कसरी हुन पुगेको हो भन्ने कुरोलाई स्पष्ट पारेका छन् ।
अङ्ग्रेजी नाम दिइएको ‘स्पार्कल फ्रम स्वयम्भू : विद्यार्थीको यात्रा सङ्कलन’ पनि नामजस्तै सुन्दर सिर्जनाहरुको चम्किलो कृति हो । यस कृतिमा परेका अधिकांश रचना अंग्रेजी भाषाका छन् भने केही रचना नेपाली भाषाका छन् । कृतिको शीर्षकले भनेजस्तै यात्राका निबन्धहरु यसमा समेटिएका छन् ।
कृतिमा आस्मा बराइलीले रोचक किसिमले शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेको संस्मरण सय वर्षे युवा शीर्षकमा संस्मरण लेखेका छन् । यसै गरी रीवा बानिया, स्मृति गिरी, आरती सुवेदी, कृतिका खड्का, अमृता घिमिरे, जोभ अविकास, अलिशा लो, अस्बिना पंडित, अनिशा विष्ट, दामिना गुरागाईँका रचनाहरु समाविष्ट छन् कृतिमा । प्रश्न गुरुङ, रचना भुजेल, सुवर्ण गौतम, सुपश्वी पौडेल, आयुशा भुजेल, निहित अधिकारी, रजल श्रेष्ठका संस्मरणात्मक यात्रा निबन्धले कृति सजिएका छन् । साइमन परियार, किशोर घिमिरे, सोलोमन बानिया, अविन घिमिरेका ओजस्वी रचनाहरु परेका छन् । निरुता देउलाले मैले छुटाएको भ्रमण लेखेर अलिक फरक स्वाद दिएका छन् ।
‘स्पार्कल फ्रम स्वयम्भू …’को सम्पादकको नाम खुलाइएको नपाइए पनि सम्पादकीयमा भनिएको कुरा भने सराहनीय छ । बालबालिकाका रचनाहरुले तिनीहरुको प्रतिभाको वार्तमानिक परिचय मात्र दिइएको छैन, आगतको यात्रालाई पनि प्रष्ट र प्रशस्त पारेका छन् मार्ग ।
मकवानपुर बाल विद्या सदनका अध्यक्ष सुदीपराज गिरीले प्रकाशकीयमा उल्लेख गरेजस्तै हाम्रा सांस्कृतिक, ऐतिहासिक, धार्मिक, प्राकृतिक लगायत सम्पूर्ण निधि तथा धरोहरप्रतिको सम्मान र सम्बद्र्धनमा बालबालिकाको खूब मन लागोस् भन्ने शुभकामना दिन सकिन्छ । अहिलेको खाँचो पनि यही हो र सम्भवतः यस कृतिऐनामा त्यस चाहनाको बिम्बलाई देख्न सकिन्छ र लेखन क्षमताको बिम्बलाई पनि । यो कृति बाल नियात्रा संस्मरण हो । यस कृतिले आफ्नै किसिमको इतिहास बनाउन सफल भएको छ । आउँदो समयको बिम्ब र विन्दुमा यस कृतिको महत्व झन् बढ्ने निश्चित छ । यदि एमबिबिएसले यस प्रकारको रचनालाई महत्व दिएर आगामी कृतिहरु पनि प्रकाशन गरिरहन सफल हुन्छ भने नेपाली यात्रा साहित्य, संस्मरण साहित्यको क्षेत्रमा छुट्टै आकाशको खोजी गर्न सफल हुने विश्वास लिन सकिन्छ ।
मकवानपुरे साहित्यको माटो ऊर्वर छ । उर्वताका दुई प्रमाण हुन् यी । मकवानपुरमा बालप्रतिभा यति मात्र हुन् वा यी दुई विद्यालयमा मात्र सीमित छ भन्न खोजेको कदापि होइन । अन्य विद्यालय तथा साहित्यिक संस्थाले पनि यस प्रकारका दह्रा गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । यस्ता कार्यका ठोस दुई दृष्टान्त मात्र हुन् यी । सामुदायिक र संस्थागत विद्यालयबाटै कसरी भविष्यका साहित्यकारहरुलाई प्रोत्साहन मिलिरहेको छ र कसरी अग्रजहरुले बाटो देखाइरहेका छन् भन्ने दृष्टान्त पनि हुन् । साहित्यिक मन, वचन र कर्म भएका शिक्षक तथा प्रशासकहरुले कर्मका दुई सुन्दर पुष्प हुन् यी कृति । यिनको सुवास निकै टाढासम्म पुगेको छ र युगदेखि युगसम्म फैलिरहने छ भन्ने आशाका उज्ज्वल मनोदीपकहरुको आलोक देख्न सकिन्छ । यस सत्कर्ममा लागेका सम्पूर्ण पक्ष समयबाट अभिनन्दनीय छन् किनभने कार्य नै वन्दनीय रहेको छर्लङ्ग छ ।
