बेलायतमा संक्रमण दर घट्दै
लन्डन । सन् २०२१ को सुरुबाटै बेलायतमा उच्च रहेको कोरोना संक्रमणदर न्यून हुँदै गएको पछिल्लो तथ्यांकले देखाएको छ । यद्धपी मृत्युदर भने अझै कम नभएको बताइएको छ । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ३४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विज्ञहरुका अनुसार हाल जारी लकडाउन र खोप वितरणमा गरिएको तीव्रताका कारण दैनिक मृत्युदरमा कमी आएको बताइएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ४१५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ८ हजार ५२३ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ६३ हजार ८५ पुगेको छ । लकडाउनका कडा प्रतिबन्धका कारण नयाँ संक्रमित दरमा दैनिक ६ प्रतिशतले ह्रास आएको अधिकारीहरुले बताएका छन् । हाल बेलायतको संक्रमण मापन (आर) को दर ०.६ देखि ०.९ को बीचमा रहेको छ । इङ्ग्ल्याण्डको राष्ट्रिय तथ्याँकको कार्यालय ९ओएनएस० को तथ्याँकले कोरोना भाइरसको लेवल निरन्तर घट्दै गएको देखाएको हो । हालको संक्रमण दर गत वर्ष अक्टोबरमा जस्तै समान रहेको तथ्याँकले देखाएको छ ।
अस्पतालमा संक्रमितको चाप अझै उच्च रहेपनि यो संख्या निरन्तर ओरालो लाग्दै गएको छ । संक्रमणलाई नियन्त्रण गर्न अझै पनि निरन्तर सावधानी अपनाउन अनुरोध गरिएको छ । बेलायतका अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमितको संख्या पनि निरन्तर घात्दै गइरहेको छ । अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर १५ हजार ४८५ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार ४७ पुगेको छ । एजेन्सी
