कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक : यस्तो छ २ वटा निर्णय
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको शुक्रबार अपरान्ह बसेको बैठकले २ वटा निर्णय गरेको छ ।
दलका नेता इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा संसदीय दलको सम्पर्क कार्यालय काठमाडौंमा बसेको बैठकले संघीय संसद विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै यसको विरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले बागमती प्रदेशसभामा मूख्यमन्त्री डोरमणी पौडेलविरुद्ध शुक्रबार दर्ता अविश्वासको प्रस्तावबारे आवश्यक समन्वय गरी प्रदेशमा अन्य राजनीतिक दलसँग छलफल र भेटवार्ताको लागि संसदीय दलको नेता ईन्द्रबहादुर बानियाँलाई जिम्मा दिने निर्णय गरेको संसदीय दलका प्रवक्ता प्रभात तामाङले जानकारी दिए ।

बैठकमा पार्टी केन्द्रले संघीय सरकारको कदमको विरोधमा देशभर गर्ने तय गरेको प्रर्दशनमा सांसदहरु आफ्नो क्षेत्रमा खटिनेबारे समेत छलफल भएको थियो ।
बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएपछि राजनीतिक सरगर्मी बढेको छ ।
