हेटौंडाको चारै नाकाबाट प्रदर्शनकारी भित्र्याउँदै काँग्रेस

तु खबर संवाददाता
२०७७ मंसिर २९, सोमबार ११:१३
file-photo

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले आज सरकारका गतिविधिका विरुद्ध व्यापक प्रदर्शन गर्दैछ । आजको विरोध जुलुसलाई काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने काँग्रेसले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । काँग्रेस मकवानपुरले यसका लागि भब्य तयारी गरेको जनाएको छ ।

सरकारले लोकतन्त्र मास्न खोजेको, कम्युनिष्ट सर्वसत्तावाद हावी हुन खोजेको, भ्रष्टाचार बढेको र नागरिकको सुरक्षा धरापमा पारेको भन्दै आन्दोलन घोषणा गरेको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडामा प्रर्दशन भब्य बनाउन आवश्यक सबै तयारी पूरा भएको नेपाली काँग्रेस मकवानपुरका सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले तु खबरलाई जानकारी दिएका छन् ।
काँग्रेसका अनुसार, हेटौंडाका चारै नाकाबाट जनप्रदर्शन गरिनेछ । हेटौंडाको वडा नं. ५,६,७,१६,१७ र १८ को र्याली हेटौंडा–५ सानुपोखराबाट भित्रिने छ भने ३,११ र १९ को र्याली सडक डिभिजन कार्यालय अगाडी भेला भई मूल र्यालीमा जोडिने योजना बनाएको छ । त्यसैगरी हेटौंडा वडा नं. १ र २ को र्याली चौकीटोलबाट मूल र्यालीमा मिसाउने योजना काग्रेसको छ । त्यस्तै ४,८,९,१०,१२,१३,१४ र १५ नम्बर वडाको र्याली वन विज्ञान अध्ययन सस्थानतिरबाट मूल र्यालीमा प्रवेश हुने काँग्रेस मकवानपुरले जानकारी दिएको छ ।

जनप्रदर्शनलाई तीव्र बनाउन काँग्रेसले विभिन्न तयारी समेत बनाएको छ । पूर्व तर्फको सानोपोखराबाट आउने र्याली सभापति बानियाँले नेतृत्व गर्नेछन् भने उत्तरी क्षेत्रबाट आउने प्रदर्शनलाई केन्द्रीय सदस्य डिना उपाध्याय र प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालले नेतृत्व गर्नेछन् । त्यसैगरी दक्षिणबाट आउने र्यालीलाई निर्वतमान सभापति रघुरमण न्यौपोन, प्रवक्ता प्रदीप कोइराला र क्षेत्रीय सभापतिहरुले नेतृत्व गर्नेछन् । पश्चिमबाट प्रदेश गर्ने र्यालीलाई काँग्रेस जिल्ला सचिव बुद्ध लामाले नेतृत्व गर्नेछन् । गाउँपालिकाका नेता कार्यकर्ताहरु आफूलाई पायक पर्ने स्थानबाट प्रदर्शनमा सहभागी हुनेछन् ।

बुद्धचोकमा हुने सभालाई केन्द्रीय सभापति देउवाले सम्बोधन गर्दैछन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि सम्बोधनका लागि आउँदैछन् । बानियाँ र उपाध्यायले पनि सभालाई सम्बोधन गर्ने काँग्रेस मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*