सोह्र खेलमैदानको स्तरोन्नति

तु खबर संवाददाता
२०७७ कार्तिक १९, बुधबार १५:१०

पोखरा । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत खेलकूदका भौतिक पूर्वाधार निर्माण गरिएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय सरकारले खेल पूर्वाधार निर्माणमा लगानी गरेका हुन् । ग्रामीण क्षेत्रमा विद्यालयका खेल मैदानलाई समेत स्तरोन्नति गरी फुटबल तथा भलिबल खेल खेल्न योग्य बनाइएको छ ।

राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को बजेटबाट गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नति गरिएका जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

ती पूर्वाधारका लागि गत वर्ष रु दुई करोड २० लाख हाराहारीमा लगानी भएको बताइन्छ । भलिबल, फुटबललगायतका खेललाई प्राथमिकता दिएर पूर्वाधार निर्माण भइरहेको उनको भनाइ छ । उनले भने, “सरकारले विद्यालयस्तरदेखि नै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य लिएको छ, सोही अनुसार सम्भाव्य स्थलदेखि विद्यालयका खेलमैदानसमेत स्तरोन्नति गरेर गाउँ गाउँमा पूर्वाधार निर्माण भइरहेका छन् ।”

पोखरा महानगरपालिका–२३ बाम्दीमा रु ५० लाख लागतमा भलिबल कोर्टसहित एक हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ । कोर्ट निर्माणबाट खेलकूद गतिविधि बढ्ने विश्वास जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुली बताउनुहुन्छ । उनले भने, “पोखरा महानगरकै वडा भए पनि दुर्गम क्षेत्रमा निर्माण गरिएको भलिबल खेल पूर्वाधारले गाउँमा समेत खेलकूदको माहोल बढाउने विश्वास लिएका छौँ ।” भलिबल कोर्ट निर्माणमा वडा कार्यालयले जमिन उपलब्ध गराएको र स्थानीयवासीले श्रमदान गरेको बताइन्छ ।

त्यसैगरी पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ को घान्द्रुकमा आइअल्टिच्युड खेल मैदान निर्माण गरिएको छ । राखेपले गत वर्ष उपलब्ध गराएको रु ५० लाख बजेटबाट सो मैदान निर्माण गरिएको हो । घान्द्रुकको मेश्रम बराह माध्यमिक विद्यालयको खेल मैदान स्तरोरन्नति गरी हाइअल्टिच्युड फुटबल मैदान निर्माण गरिएको हो । उच्च पर्वतीय खेलकूदका माध्यमबाट खेल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।

जिल्ला खेलकूद विकास समितिका अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा रु १५ लाख लागतमा खेलमैदान निर्माण गरिएको छ । अन्नपूर्णकै वडा नं १ को सिर्जना माविमा रु आठ लाखमा खेलमैदान, पोखरा–१४ मझेरीपाटनमा रु आठ लाख लगानीमा सामुदायिक व्यायामशाला, पोखरा–३१ मा रु आठ लाखमा बेगनास खेलकूद मैदान, पोखरा–१६ मा रु आठ लाख लागतमा बाटुलेचौर खेल मैदान र पोखरा–३३ को शिशु कल्याण माध्यमिक विद्यालयमा खेल मैदान स्तरोन्नति गरिएको छ ।

यसैगरी पोखरा–२१ र पोखरा–१३ मा रु आठ/आठ लाख लगानीमा खेल मैदान निर्माण गरिएको छ । पोखरा–२४ र पोखरा–१८ सराङकोटस्थित शान्त माध्यमिक विद्यालयमा रु पाँच÷पाँच लाख लागानीमा खेल मैदान निर्माण गरिएको बताइन्छ ।

पोखरा–२२ को उल्लेखरी खेल मैदान, वडा नं १८ मा सेती खेलमैदान, माछापुच्छे–२ मा गैराखरी र पोखरा–१९ को काउरे खेल मैदानका लागि रु आठ/आठ लाख लगानी भएको कार्यालय प्रमुख बरालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*