जुनसुकै प्रकारका हत्या, हिंसा, सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ छ –प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ रहेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५ औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गरे ।
उनले एसिड आक्रमणका विरुद्ध नयाँ कानुन ल्याएर कडा कदम चाल्ने सरकारले अठोट लिएको जानकारी गराउँदै बलात्कारविरुद्ध पनि त्यस्तै कडा कानुन ल्याइने जानकारी दिए ।
‘बलात्कारका घटना निन्दनीय र मानवता विरोधी अपराध रहेकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार अझ कडा कानुन ल्याउने तयारीमा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘बलात्कार जस्ता घटना मिलापत्रका नाममा छोपछाप गर्ने काम सह्य हुन सक्दैन ।’
उनले कानुन कार्यान्वयन गर्दै अपराधविहीन समाज निर्माण गर्न र दिगो शान्तिमा योगदान र्पुयाउनेतर्फ केन्द्रित हुन प्रहरीलाई आग्रह गरे ।
