शक्ति बटुल्दै देउवा
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी ७–१० फागुनका लागि तय भइसकेको छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र शक्ति संघर्षको खेल सुरु भएको छ ।
महाधिवेशन नजिकिएसँगै पार्टी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतले नेता कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन् । कतिपय नेताले भेटघाटका लागि सम्पर्क कार्यालय खोलिसकेका छन् ।
हाल पार्टी नेतृत्व सम्हालिरहेका देउवा पुनः एक पटक नेतृत्वका लागि अघि बढेसँगै उनले नेतृत्वमा पुग्न शक्ति बटुल्ने कामलाई समेत तीव्रता दिएका छन् । उनले १४औं महाधिवेशनलाई केन्द्रमा राखेर पार्टीभित्र रिक्त रहेका विभाग गठन गर्दै विभागमा सदस्यसमेत धमाधम नियुक्त गरिरहेका छन् ।
तत्कालीन फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारदेखि राप्रपाका पूर्वमहामन्त्री सुनील थापासम्म कांग्रेस प्रवेश गरेका छन्
देउवाले विधानअनुसार महाधिवेशन सकिएको दुई महिनाभित्र (नयाँ विधानअनुसार ६ महिना) गठन गरिसक्नुपर्ने विभाग गत फागुन तेस्रो साता चार वर्षको कार्यकाल सकिएपछि गठन गरेका थिए । उनले विधानमा कायम रहेका पार्टीका २८ विभागलाई बढाएर ४७ बनाउने निर्णयसमेत केन्द्रीय समितिबाट गरेका थिए ।
सभापति देउवाले वरिष्ठ नेता पौडेल पक्षको विरोधबीच १३, १७ र १९ फागुनमा गरी २० वटा विभाग गठन गरिसकेका छन् भने बाँकी २७ विभाग भने आफूइतर पक्षको सहमतिमा गठन गर्ने गरी बाँकी राखेका छन् ।
हाल भने देउवाले आफूले गठन गरिसकेका विभागमा धमाधम सदस्य मनोनीत गरिरहेका छन् । विभागलाई प्रदेश तह हुँदै स्थानीय स्तरमा लैजानसमेत तयारी अघि बढाएका छन् । त्यसका लागि सदस्य छान्न उनले सातवटै प्रदेशमा केन्द्रका नेतालाई प्रतिनिधि तोकेर सदस्यको नामावली संकलन गर्दै अघि बढेका छन् ।
त्यसका लागि देउवाले प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ बाट आनन्द ढुंगाना, बाग्मती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठ, प्रदेश ५ बाट बालकृष्ण खाँण, कर्णाली प्रदेशबाट जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट एनपी साउदलाई नामावली छनोटको जिम्मेवारी दिएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय विभागमा संयोजकसहित ५१ जना सदस्य रहने व्यवस्था छ । आजको राजधानी दैनिकमा समाचार छ।
