स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त

तु खबर संवाददाता
२०७७ बैशाख २४, बुधबार ०७:०६
file-photo

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त छन् । प्रधानमन्त्री केपी ओली बैठकलाई कोरोना भाइरसको महामारी र आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरी संक्षिप्त बनाउने पक्षमा छन् । तर, प्रचण्ड–नेपाल समूह पार्टी र सरकारको कामको विस्तृत समीक्षासँगै अध्यादेश प्रकरण र एक व्यक्तिः एक मुख्य जिम्मेवारीलगायत विषयसमेत उठाउने योजनामा छ ।

मंगलबारको भेटमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी र आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरी संक्षिप्त राजनीतिक प्रस्ताव तयार पार्न अध्यक्ष प्रचण्डलाई सुझाब नै दिएका छन् । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई पनि भेटेर बैठकमा उठाउने मुद्दा र बैठक छोटो गराउनेबारे परामर्श गरेका छन् । त्यस्तै, प्रचण्डले वरिष्ठ नेता नेपालसँग पनि छलफल गरेका छन् ।

प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले कतिपय जिम्मेवारी हेरफेरलगायत विषयलाई अहिले प्रतिवेदनमा समेटेर एजेन्डा बनाउन नसकिने, त्यसका लागि थप छलफल र अनौपचारिक गृहकार्य गर्नुपर्ने भएकाले बरु स्थायी समिति बैठक नै सार्न सकिने विकल्पसमेत प्रस्तुत गरेका छन् । तर, प्रचण्ड र नेपाल समूहका स्थायी सदस्यहरू जसरी पनि बैठक बस्ने पक्षमा छन् ।

बैठक छोटो बनाउने प्रधानमन्त्रीको प्रस्तावपछि स्थायी समितिका २० सदस्यले मंगलबार भेला गरेर बैठकमा सम्पूर्ण विषयमा छलफल गर्नुपर्ने रणनीति बनाएका छन् । उनीहरूले आफूहरूले पत्र लेखेर बोलाएको बैठक भएकाले त्यसैअनुसार एजेन्डा बनाएर छलफल गर्नुपर्ने माग दोहोर्‍याएका छन् । सरकार र पार्टी सञ्चालनका समग्र समीक्षा हुने गरी प्रतिवेदन नआउने संकेत पाएपछि स्थायी समितिको बैठक माग गर्ने सदस्यले मंगलबार ललितपुरको एक रेस्टुरेन्टमा झन्डै पाँच घन्टा छलफल गरेका थिए ।

भेलाले मुख्यगरी राजनीतिक विषयमा साझा धारणासहित बैठकमा एकीकृत रूपमा प्रस्तुत हुने सहमति गरेको छ । भेलामा बैठक माग गर्ने देव गुरुङबाहेक १९ नेता सहभागी थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*