प्रधानमन्त्रीमाथि गम्भीर प्रश्नः नैतिकता खोइ ?
सत्तारुढ दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकतामाथि प्रश्न उठाएका छन् । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादित दुई अध्यादेश फिर्ता लिने निर्णय गरेपछि सांसद विष्णु रिजाल र रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीमाथि प्रश्न उठाएका हुन् ।
यही बैशाख ८ गतेको मन्त्रिपरिषद्ले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद्ले सोही अध्यादेश फिर्ता लिने निर्णय गरेपछि सांसद रिजाल र झाँक्रीले प्रधानमन्त्री ओलीमाथि प्रश्न उठाएका हुन् ।
मन्त्रिपरिषद्को निर्णयलगत्तै नेकपा सांसद रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमा सरकारको निर्णयले सम्पूर्ण राजनीतिक र नैतिक प्रश्न सकिन्छ ? भन्दै प्रश्न गरेकी छन् ।
त्यस्तै अर्का सांसद रिजालले अध्यादेशको पक्षमा वकालत गरेका व्यक्तिप्रति ब्यंग्य गरेका छन् । ’त्यही भएर म भन्छ– लाहुरेभन्दा गुन्टाअगाडि उफ्रिएको सुहाउँदैन । अध्यादेश आजको आवश्यकता हो, यो फिर्ता गर्नलाई ल्याएको होइन, फिर्ता हुँदैन, यसले लोकतन्त्रलाई बलियो बनाउँछ, कानुनले दल बन्ने होइन भनेर वकालत गर्नेहरूलाई अब रफ्फु भर्न परेन फसाद !’ उनले ट्वीटमा भनेका छन् ।
