हेटौंडा आएर राष्ट्रपतिले भनिन्– ‘शहिदको बलिदानलाई भुल्न हुँदैन’
हेटौंडा, १४ माघ । नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले शहिदहरुको बलिदानलाई भुल्न नहुने बताएकी छिन् । आज मंगलबार हेटौंडाका आएकी भण्डारीले शहिदको बलिदान र त्यागले देशमा परिवर्तन आएको बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले शहिदहरुको त्याग, तपस्या, प्रेरणाबाट अहिले राष्ट्रमा गणतान्त्रिक संसदीय प्रजातन्त्रको स्थायी राजनीतिकमा परिवर्तन ल्याएको बताइन् । भण्डारीले देशमा प्रजातन्त्र प्राप्तिका लागि लडेका प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुषहरुको प्रतिमा अनावरण गरेकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन प्रबद्र्धनमा बागमती प्रदेश सरकार जुट्नुपर्ने बताएकी छिन् । सहिद स्मारक हेटौंडामा स्थापना गरिएको प्रजातान्त्रिक पार्क र रजत स्तम्भको अनावरणका लागि आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउन प्रदेश सरकारलाई भूमिका निर्वाह गर्न आग्रह गरिन् ।
‘पर्यटन प्रबद्र्धनमा प्रदेश सरकार जुट्न जरुरी छ’ उनले भनिन्–‘आन्तरिक आवागमन र पर्यटन प्रबद्र्धनमा थप ध्यान दिए विकासमा सघाउ पुग्नेछ ।’ राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई साकार पार्न सरकार तत्पर रहन आग्रह गरिन् । उनले त्यसका लागि हरेक क्षेत्रको विकासमा प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहने बताइन् ।
आम जनताको लागि मानवअधिकारको सम्बद्र्धन, विकासको पूर्वाधार वितरण गर्न र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन प्रदेश सरकारले इमानदारी पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न आह्वान गरिन् ।
मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिको बारेमा जनचेतना अभिवृद्धि गर्न संघीय र प्रदेश सरकारको भूमिकाको आवश्यकता रहेको बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले नवनिर्मित प्रजातान्त्रिक पार्कमा बनाइएको विपी प्रसाद कोईराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको पूर्ण कदको शालिकको अनावरण गरेकी छिन ।
कार्यक्रममा सहिद स्मारक विकास समितिको अध्यक्षसमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्मारकको विगतदेखि वर्तमान स्थितिबारे जानकारी गराए । कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले मन्तव्य व्यक्त गरेका थिए ।
रजत जयन्तिको अवसरमा आयोजित समारोहमा स्मारक निर्माणताका ढुंगामा शहिदको आकृति बनाउने कलाकारहरु कमलेश महर्जन, गोविन्द चौधरी, पृथ्वी श्रेष्ठ, स्मारक व्यवस्थापन प्रमुख रामचन्द्र न्यौपाने र प्रथम उपभोक्ता समिति अध्यक्ष हरिशरण सुवेदीलाई सम्मान गरिएको छ ।
यो पनि पढ्नुहोस् ।
- आज हेटौंडा आउँदै राष्ट्रिपति विद्यादेवी भण्डारी
- हेटौंडाको सहीद स्मारकमा सेनाको ‘घेरा’, सुरक्षा व्यवस्था कडा
- हेलिकप्टरबाट हेटौंडा आइन् राष्ट्रपति, केहीबेरमै स्मारक पुग्ने
- सहीद स्मारकमा राष्ट्रपतिको १ घण्टा, यस्ता छन् ३ कार्यक्रम
- राष्ट्रपति आउँदा सहीद स्मारकमा यस्तो भयो (फोटो फिचर)
