हेटौंडाको सहीद स्मारकमा सेनाको ‘घेरा’, सुरक्षा व्यवस्था कडा
हेटौंडा, १४ माघ । हेटौंडामा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
हेटौंडामा रहेको पर्यटकिय स्थल सहिद स्मारकमा निर्माण गरिएको प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेटौंडा आउने कार्यक्रम छ ।
पार्कको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले पार्कमा निर्माण गरिएका प्रतिमा अनावरण गर्नेछिन् । राष्ट्रपतिको हेटौंडा आउने कार्यक्रम तय भएसँगै सुरक्षा चुस्त पार्न खटेको तीनवटै सुरक्षा निकायले सोमबारबाटै झन निगरानी बढाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले हेटौंडासहित आसपासमा सुरक्षा निगरानी बढाएका हुन् । राष्ट्रपतिको कार्यक्रम रहेको स्थल सहिद स्मारकमा नेपाली सेनाको विशेष टोलीले सुरक्षा दिइरहेको छ । बाहिरी घेरामा जनपद र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।
सुरक्षा व्यवस्था चुस्त राख्नका लागि हेटौंडाका विभिन्न नाकामा सुरक्षा चेकिङ भइरहेका छन् । विभिन्न कालखण्डका सहिदको प्रतिमा राखिएको हेटौँडा उपमहानगरपालिका–११ स्थित पर्यटकीयस्थल सहिद स्मारकमा रहेको प्रजातान्त्रिक पार्क उद्घाटनका लागि दिउँसो १२ बजे राष्ट्रपति भण्डारी हेटौंडा आउने जनाइएको छ ।
सुरक्षालाई चुस्त राख्नका लागि नेपाली सेनाको टोलीले स्मारकमा निगरानी गरिरहेको छ । स्मारकको चारै दिशाबाट घेरा हाली कुकुरसहितको टोलीले स्मारक र आसपासका क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।
यो पनि पढ्नुहोस् ।
