नेकपाका १० प्रदेश सांसदलाई ‘तलमाथि’ गर्ने इन्द्र बानियाँको योजना
हेटौंडा, ८ माघ । बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बहादुर बानियाँले नेकपाका १० प्रदेश सांसदलाई तलमाथि गरेर निर्वाचनमा जित निकाल्न सकिने सनसनी पूर्ण भाषण दिएका छन् ।
आज बुधवार काठमाडौंमा भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले भोली हुने राष्ट्रिय सभाको चुनावको अवसरमा शुभकामना आदान प्रदान तथा स्नेह मिलन कार्यक्रममा चुनावको रणनीतिबारे धारणा राखेका थिए ।
बानियाँले प्रदेशको राजधानी र नामको विषयमा नेकपा भित्र भएको द्धन्द्धको फाइदा राष्ट्रियसभा चुनावमा उठाउनु पर्ने योजना अघि सारेका छन् ।
बानियाँले एउटा प्रदेश सांसद बराबर ४८ मत काउण्ट हुने भन्दै नेकपाका १०–८ सांसदलाई तलमाथी गर्न सकियो र नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरुले भूमिका खेल्न सकियो भने जित नजिक पुग्ने योजना सुनाए ।
नेकपा भित्र प्रदेशको नाम र राजधानीको विषयले निकै आन्तरिक द्धन्द्ध भएको भन्दै कांग्रेसका प्रदेशभित्रका सांसदहरुले आगामी निर्वाचनमा भूमिका खेल्नुपर्ने बानियाँले बताएका छन् ।
बागमती प्रदेशमा सबैको कोशिसे चुनाव जितिने बताए । उनले कांग्रेसका जनप्रतिनिधि रहेको स्थानीय सरकारले अनुदानलगायतका विषयमा भोग्नु परेका समस्याका बारेमा छलफल गर्नुपर्ने धारणा राखे ।
