राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ पुष १८,शुक्रबार १६:३७

हेटौंडा, १७ पुस । प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको बैठक हेटौंडामा जारी छ । मुख्यमन्त्री निवासमा दिउँसो साढे २ बजेदेखि सुरु बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले पार्टीको निर्णय मानेर अघि बढ्नु पर्ने नेकपाका सांसदरुहलाई बताएका छन् ।

बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई कदर गरेर अघि बढ्नु पर्ने धारणा पौडेलले राखे । २ वर्षसम्म पार्टीको निर्णय कुरेर बसेको भन्दै पौडेलले अब प्रक्रियागत ढंगबाट छिटो टुंगो लगाउनु पर्ने बताए ।

उनले प्रदेशसभा बैठक सुरु हुनु अगावै राजधानी र नामको विषयमा संसदीय दलले एकताबद्ध भएर जानुपर्ने बताए । उनले नेतृत्वको भावना बुझेर अघि बढ्नु पर्ने बताउँदै प्रदेश ३ को राजधानी र नामाकरणमा सचिवालय बैठकले गरेको निर्णयलाई सबैलाई स्वीकार्नु पर्ने बताए ।

पुस २२ गतेभित्र प्रदेशसभाको सबै प्रक्रिया पुरा गरेर राजधानी र नामको विषयलाई टुंगो लगाउने पर्ने बताए । २ वर्षसम्म प्रदेश ३ ले राजधानी र नामको विषय टुंगो लगाउन नसक्दा निक्कै समस्या उत्पन्न भएको धारणा राखे ।

प्रदेश ३ सत्तारुढ दल नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालले संसदीय दलको बैठकमा राजधानी र नामको विषयमा छलफल भइरहेको बताउँदै सहमतीको प्रयास हुने बताएका छन् । उनले पुस २२ गतेभित्र प्रदेश ३ को राजधानी र नामाकरणको विषयलाई टुंगो लगाइने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले गत आइतबार प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यसविषयमा समर्थन र विरोध हुँदै आइरहेको छ ।

नेकपा सचिवालयको निर्णयलाई प्रदेशसभाबाट पारित गर्न प्रदेशसभा बैठक २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ ।

प्रदेशसभाको बैठक नजिकिँदै जाँदा राजधानीको विषयलाई लिएर सत्तारुढ दल नेकपाभित्रै तीव्र विरोधले निर्णय कार्यान्वयनमा सकस देखिएको छ । प्रदेश ३ को राजधानी र नामको विषयले सत्तारुढ दल नेकपाभित्रकै सांसदहरुको असन्तुष्टि छ ।

सचिवालयको निर्णय कार्यान्वयन गराउन राजधानी र नामाकरणकै विषयमा सहमती जुटाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक पनि दिउँसो काठमाडौंमा बसिरहेको छ ।

दुवै संसदीय दलको साझा एजेण्डा प्रदेश ३ को राजधानी र नामाकरणको विषय रहेको छ । नेकपा र कांग्रेस संसदीय दलको बैठकमा राजधानीमा हेटौंडा र नाम बागमती राख्ने विषयमा सहमतीको प्रयास खोजिने बताइएको छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*