पदमपोखरीमा भूमिगत जलश्रोत सिंचाई आयोजना, स्थानीय सरकारको लगानी कुर्दै उपभोक्ता
–चन्द्र घलान
हेटौँडा, १२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेस्थित आग्रल टोलमा ‘पान्तले भूमिगत जलश्रोत सिँचाई आयोजना’ को काम धमाधम भइरहेको छ । पान्तले भूमिगत जलश्रोत सिंचाई उपभोक्ता समितिका अध्यक्ष महानन्द सापकोटाका अनुसार भूमिगत जल सिँचाईका लागि ११५ मिटर गहिराईको ईनार खनिसकिएको र पानी समेत निस्की सकेको छ ।
पदमपोखरीका अधिकांश खेतीयोग्य जमिनमा वर्षायाममा मात्र खेती हुने गरेको छ । हेटौँडा बजारबाट नजिकै रहेर पनि विकासमा पछि परेको पदमपोखरीमा सिंचाईको योजनाहरु समेत नबनेको समयमा डिप बोरिङ गरेर सिंचाईको व्यवस्था मिलाउन लागिएको हो । यो सिँचाई योजना पूरा भएमा २५ हेक्टर जग्गालाई सिँचाई गर्न सकिने बताइएको छ ।

नेपाल सरकारको सहयोग अन्तर्गत जलश्रोत सिंचाई विकास डिभिजन कार्यालय खैरहनी चितवनको सहयोगमा सिचाई आयोजना सुरु गरिएको हो । जम्मा १९ लाख १० हजार ६ सय ४ रुपैयाँको लागतमा वि.सं. २०७७ सालसम्म सकिने गरि ३ वर्षीय योजना बनाएर सिँचाई आयोजना सुरु गरिएको हो ।
सिंचाई आयोजनामा ३ प्रतिशत अर्थात ५८ हजार लगानी समुदायिक दायित्व अन्तर्गत राखिएको छ । योजना २५ हेक्टरको भए पनि निर्माणाधिन योजनाले करिब २७ बिघा जमिनमा मात्र सिंचाई हुन सक्ने अवस्था रहेको उपभोक्ता समिति अध्यक्ष सापकोटाले जानकारी दिए । लामो समयपछि सिंचाई आयोजनाको सुरुवात भएतापनि स्थानीय सरकारको अभाव खड्किएको अध्यक्ष सापकोटाले बताए । ‘स्थानीय सरकारले समेत हामीलाई सहयोग गरेमा सिँचाई आयोजनालाई थप वृहत बनाउन सम्भव हुने थियो, तर हामीले सहयोग पाएका छैनाँै’, उनले भने, ‘स्थानीय सरकारको चासो भएमा पदमपोखरीको मुहार फेरिने छ ।’

सिंचाई आयोजनालाई समयमा नै सफल पार्नका लागि उपभोक्ता समिति सहित वडा नम्बर १२ का जनप्रतिनिधिले समेत व्यक्तिगत पहल सुरु गरेका छन् । वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलान समेत आयोजनाका लागि सहयोग जुटाउन विभिन्न पहलमा जुटेको छन् । स्थानीयहरु समेत थप चासोका साथ लागेका छन् । ६ महिना मात्र खेतीपाति हुने त्यसपछि जमिन बाँझो छोड्नुपर्ने अवस्थाबाट गुज्रिएका किसानका लागि समेत यो योजना वरदान सावित हुने देखिएको छ ।
