खाद्य संस्थान हेटौँडाको प्राङ्गणबाट लागुऔषध सहित ताराबहादुर पक्राउ
हेटौँडा, ११ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित खाद्य संस्थानको कार्यालय प्राङ्गणबाट लागुऔषध गाँजा र नाईट्रोभेटसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बारा जिल्लाको हरैया १ घर भई हाल हेटौँडा २ मा बस्ने २२ वर्षीय ताराबहादुर धिताललाई पक्राउ गरेको हो ।
खाद्य संस्थान कार्यालय हेटौँडाको कम्पाउण्डभित्र लागुऔषध नाईट्रोभेट समेत बिक्रि बितरण गर्दै छ भन्ने सुचना प्राप्त भएपछि खटिएको प्रहरीले संकास्पद रुपमा बसिरहेका ताराबहादुरलाई शरीर खानतलासी गर्दा पाईन्टको खल्तीभित्र लुकाई छिपाई राखेको लागू औषध गाँजा २० ग्राम र लागू औषध नाईट्रोभेट १० ट्याब्लेट फेला परेपछि उनलाई नियन्त्रण गरिएको हो ।
उनलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले बताएका छन् ।
