सुतली बम, पेस्तोल र राईफलको गोली सहित मकवानपुरबाट युवक पक्राउ
मकवानपुर, ६ बैशाख । मकवानपुर प्रहरीले हातहतियार सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हातहतियार सहित पक्राउ परेका हेटौँडा–३ लेवट जम्बो चौताराका ३७ वर्षीय अनिल भन्ने जोकर मोक्तानलाई पत्रकार सम्मेलन गरि आज सार्वजनिक गरेको हो ।
मोक्तानको साथबाट कटुवा पेस्तोल ३ थान, नलकटुवा पेस्तोलमा फिट हुने गोली ११ थान, ३०३ राईफलको गोली १ थान , सुतली बम १ थान , नेपाल प्रहरीको चुस्ता १ थान लगायतका बिभिन्न सामाग्री फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई आज बिहान पौने ६ बजेको समयमा पूर्व पश्चिम लोकमार्गको लेबट भन्ने स्थानमा प्रहरी चौकी लेवटबाट खटिएका प्रहरी सहायक निरिक्षक बिगबहादुर तामाङको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले पक्राउ गरेको हो । आज बिहान सवारी साधन चेक जाँच गरीरहेको अवस्थामा प्रहरीको चेकिङ टोलीलाई देखी नेवारपानी तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको यात्रुवाहक म्याजिक सवारी साधनबाट अन्दाजी ३–४ जना व्यक्तिहरु करिब ४०–५० मिटरको दुरीमा अवतरण गरेर शंकास्पद अवस्थामा भागेपछि पिछा गरेर मोक्तानलाई पक्राउ गरिएको हो ।
फरार भएका अन्य संलग्न व्यक्तिहरुको समेत पहिचान भईसकेको र खोज तलास कार्य भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मोक्तानका सम्बन्धमा थप अनुसन्धान तथा छानबिन भैरहेको र उनलाई मुलुकी ऐनको हातहतियार तथा खरखजना ऐन २०१९ तथा बिष्फोटक पदार्थ ऐन २०१८ अनुसार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको बताइएको छ ।
