गाउँपालिद्वारा फापरबारीमा उन्नत जातको बोका वितरण
मकवानपुर, ६ बैशाख । मकवानपुरको बागमती गाउँपालिकाले बाख्रा पालन कृषक समुहहरुलाई उन्नत जातको बोका वितरण गरेको छ । खशीको मासुमा उत्पादन वृद्धि गर्न बागमती गाउँपालिकाले समुहलाई उन्नत जातको बोका वितरण गरेको हो ।
गाँपालिकाले ५ लाख ५० हजारमा बोयर जातको बोका खरिद गरि अनुदानमा १५ वटा बाख्रा पालन कृषक समुहलाई एक एक वटाको दरले बितरण गरेको हो । बोयर प्रजातिय बाख्रा छोटो समयमै धेरै वढ्न सक्ने, मासु खानलाई लोकल खसी जतिकै स्वादिष्ट हुने, कसिलो मासु भएको र जुन सुकै दाना र घाँस खान सक्ने जातको भएको हुँदा किसानहरुको लागि बहुदृष्टिले फाईदा जनक भएको गाउँपालिकाका पशु विकास अधिकृत अशोक कुमार सिङले बताए । गाउँपालिकाको पशु विकास कार्यक्रम अन्र्तगत बोका वितरण गरिएको सिङले जानकारी दिए ।
नश्ल सुधार गरी उत्पादनमा बृद्धि गर्ने र कृषकहरुमा आर्थिक उन्नती एवम् पोषण अवस्थामा सुधार गरी समग्र पुर्वीभेगमा मासुजन्य बस्तुमा आत्मनिर्भर बनाउने उद्देश्यले बोका बितरण गरिएको गाउँपालिका अध्यक्ष सर्केश घलानका स्वकीय सचिव मनोज बलले बताए । ग्रामीण क्षेत्रमा पाल्दै आएका अन्य बाख्राहरुको तुलनामा बोयर बोकाबाट राम्रो आयआर्जन गर्न सकिने सम्भावना देखेपछि यस योजनातर्फ बजेट छुट्याएको बलले बताए ।
उनले थपे, “यस आर्थिक वर्षमा कृषि तथा पशु तर्फ १४ लाख ५० हजार वजेट विनियोजित गरिएको छ, जस मध्ये ५ लाख ५० हजारको उन्नतजातका बोका खरिद गरिसकेको छौँ र बाँकी रकमको छिटै खरिद गर्नेछौँ ।” गाउँमा उन्नत जातका बोका पाउने समुहहरुमा अनुदानमा बोका पाए पश्चात खुसी हुँदै वडा नम्बर २ की कृषक सुशिला वि.कले भनिन्, “लामो समय देखि बाखा्र पालेको भए पनि उन्नतजातका बोका नहुँद समस्या भएको थियो ।” उनले थपिन् , “तर अहिले गाउँपालिकाले दिएकोछ, नश्ल सुधार गरेर आर्थिक लाभ लिनेछु ।”
आफुले पालेको बाख्रा स्थानिय तथा सानो जातको हँुदा कम आम्दानी हुनुका साथै मेहनतको फल समेत नपाईरहेको अवस्थामा अब भने केहि राहत पुगेको वडा नम्बर ५ का कृषक प्रेम बहादुर थोकरले भने । थोकरले नश्ल सुधार गरि आम्दानी बढ्ने भन्दै खुसी व्यक्त गरेका छन् ।
