सरकार–मिडिया परस्पर सहयोग आवश्यकः प्रधानमन्त्री

पत्रपत्रिका
२०७७ आश्विन १५, बिहीबार ०८:०८
file-photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र मिडिया एकअर्काको सहयोगबिना अघि बढ्न गाह्रो हुने बताएका छन्। बुधबार मिडिया अलाइन्सका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारले मिडियालाई सहयोग नगर्ने र मिडियाले सरकारले राम्रो गरे पनि कन्जुस्याइँ गर्ने प्रवृत्तिले एकअर्कालाई अघि बढ्न गाह्रो हुने बताएका हुन्।

एक्लै हिँड्छु भनेर मिडियामात्र नभएर कोही पनि चल्न नसक्ने भन्दै उनले थपे, ‘कुनै पनि चिज चल्न एक अर्काको साथसमर्थन र आडभरोसा चाहिन्छ।’ प्रधानमन्त्रीले नवगठित संस्थाका पदाधिकारीलाई बधाई दिँदै मिडियाले सरकारलाई गल्ती नगर्न खबरदारी गर्नुपर्ने बताए।

कतिपय तत्वले सरकारका बारेमा भ्रम खडा गरिरहेको बताउँदै प्रधानमन्त्रीले आजको संसारमा जिम्मेवार सूचना–जानकारीको आवश्यकता रहेको धारणा व्यक्त गरे। उनले मिडियाका दर्शक÷पाठक दुई किसिमले बढ्ने बताउँदै थपे, ‘एउटा विश्वसनीय सामग्री र अर्को मनोरञ्जनात्मक तरिकाले दर्शक आकर्षण गर्न सकिन्छ।’ मिडियाले विश्वसनीय बाटो पछ्याउनुपर्ने र त्यसरी मात्र दिगो रुपमा चल्न सक्ने उनले स्पष्ट पारे। ‘छालमा होइन, पानीको गहिराइमै भर पर्नुपर्छ,’ उनले भने।

सञ्चार माध्यम देशविकासमा महत्वपूर्ण माध्यम रहेको प्रधानमन्त्रीको भनाइ थियो। उनले विगतमा पनि मिडियासम्बन्धी विभिन्न संघसंस्था स्थापना भएका तर ती प्रभावकारी हुन नसकेको बताउँदै नयाँ संस्थाले त्यस किसिमका समस्या झेल्न नपरोस् भनी शुभकामना दिए। प्रेस स्वतन्त्रताका नाममा मनलाग्दी गर्न नहुने, प्रेस जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। भेटघाटमा अलाइन्सका पदाधिकारीहरुले पनि आआफ्ना धारणा राखेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*