महाधिवेशन सार्दै काँग्रेस

पत्रपत्रिका
२०७७ श्रावण २५,आईतवार ०७:४४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । कांग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने तयारी गरिरहेको हो ।

कांग्रेस उच्च स्रोतका अनुसार महाधिवेशन सार्ने विषयमा शीर्ष नेताहरुबिच करिब करिब सहमति भएको छ । तर, महाधिवेशन सारेर जेठ कि भदौमा गर्ने भन्ने टुंगो लागेको छैन ।

‘पछिल्लो पटक तल्ला तहका अधिवेशनका मिति हेरफेर गर्दा नै महाधिवेशनको मिति पनि हेरफेर गर्ने विषयमा केन्द्रीय समितिमा कुरा उठेको हो । त्यस बखत तल्ला तहका मात्रै हेरफेर भयो तर अहिले जेठ वा भदौमा गर्ने गरी शीर्ष तहमा छलफल हुँदै छ,’ कांग्रेसका एक पदाधिकारीले राजधानीसँग भने ।

शीर्ष तहमा भएको छलफलअनुसार पूर्वनिर्धारित मिति सारिए कांग्रेसको १४औं महाधिवेशन २०७८ सालको जेठ वा भदौमा हुनेछ । कांग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले ७ देखि १० फागुन २०७७ सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

कांग्रेस पदाधिकारीसहित पूर्वपदाधिकारीको गत बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलअनुसार क्रियाशील सदस्यतालाई समेत दोब्बर बनाउने निर्णय भइसकेको छ ।

जसअनुसार कांग्रेसको सदस्यता वितरण, नवीकरण र छानबिनको प्रक्रिया अझै लम्बिने निश्चित छ । जारी कार्यतालिकाअनुसार सदस्यता वितरण साउन मसान्तसम्म मात्र तोकिएको छ । यस्तै, कांग्रेसले सदस्यता छानबिन गर्न अझै समिति बनाइसकेको छैन । आजको राजधानी दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*