ओली र दाहाल आ–आफ्नै रणनीतिमा
काठमाडौँ । सहमतिका लागि भन्दै बारम्बार बैठक स्थगित गर्दै आएका नेकपाका दुई पक्ष सम्बन्ध झन् बिग्रिएपछि आ–आफ्नो रणनीतिमा लागेका छन् ।
मंगलबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक बस्ने–नबस्ने टुंगो बिहान अध्यक्षद्वयबीचमा हुने छलफलले टुंगो लगाउने भए पनि यो साता आपसीभन्दा आ–आफ्नो टिम बलियो बनाउने ध्याउन्नमा दुवै पक्ष लागे ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनीपक्षीय नेताहरूले बालुवाटार र सिंहदरबारमा बैठक बसिहाल्यो भने कस्तो रणनीति अख्तियार गर्ने भनेर छलफल गरिरहँदा दाहाल–नेपालपक्षीय नेताहरू पनि सोमबार बिहानैदेखि छलफलमा जुटेका छन् । ‘बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको बैठक स्थगित गरौं भनेर फोन गर्नुभएको थियो,’ दाहालनिकट स्रोतले भन्यो, ‘उहाँले अब बैठक लम्ब्याएर थप डेडलक गराउन नसकिने जवाफ दिनुभएको छ ।’
दाहालले बैठक स्थगित गर्न नसकिने जवाफ दिएपछि मंगलबार ९ बजे दुई अध्यक्ष भेटेर थप छलफल गर्ने सहमति भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
