दाहालको ‘युटर्न’
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग धेरैको प्रायः एउटै जिज्ञासा हुन्छ– उनी चलायमान हुन् कि अस्थिर ? उनका केही बहिर्मुखी स्वभाव छन्– छिटो–छिटो राजनीतिक कदम चाल्न सक्ने। छिनमा चर्को आलोचनामा उत्रने। तिनै आलोचकसँग उत्तिखेरै मिल्न सक्ने। फ्याट्ट बोल्ने। फेरि फनक्क फर्किने। बुझ्न गाह्रो पार्ने विशेषता यिनै हुन्।
अरूलाई त छाडौं स्वयंलाई थाहा छैन– उनी अस्थिर हुन् गतिशील। एउटा सार्वजनिक कार्यक्रममा चासो उठ्दा उनले यसबारे जवाफ दिएका थिए, ‘परिस्थिति कस्तो बनेको छ, त्यसको माग के छ, जनताको भावना र मनोविज्ञान कस्तो छ भन्नेमा मेरो बढी ध्यान जान्छ। त्यसैअनुसार आफूलाई ढाल्ने गर्छु। कतिपयले गतिशील त कतिपयले अस्थिर भनेर बुझ्ने सम्भावना त्यसैमा छ।’
दाहालको राजनीतिक जीवनमा धेरै यस्ता मोड आए, जसमा उनले ‘बोल्ड डिसिजन’ लिएका छन्। तुरुन्तै कमजोरी भयो भन्दै आत्मालोचना र गल्ती स्वीकार गरेका छन्। त्यही स्वभावकै कारण उनले गत वैशाखयता मात्रै आफूलाई पार्टीभित्रको आन्तरिक विवादमा निक्कै कठोर पनि देखाए र तुरुन्तै लचिलो बने। त्यही कारण सहयात्री र शुभचिन्तक भुसुक्कै जिल्लिए।
शनिबारको नेकपा सचिवालयमा उनको प्रस्तुति, ‘बडी ल्याङ्वेज’ र हाउभाउ त्यस्तै लचकताको गतिलो प्रमाण थियो। दाहालकै नेतृत्वमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागियो। त्यसलाई कठोर अडानका रूपमा उनले लिँदै आए। त्यसमा साथ दिएका थिए– वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ। तर, तिनै नेताहरूसमेत चकित हुने गरी शनिबारको सचिवालय बैठकमा ओलीसँगै मिलेर प्रस्तुत भए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
