रेडियो बुलेटिनमा कोभिड-१९ को कहरमा व्यवसाय शीर्षकमा छलफल
मकवानपुर । रेडियो बुलेटिन ८९ दशमलव ७ मेघाहर्जले कोभिड–१९ को कहरमा व्यवसायी शीर्षक छलफल कार्यक्रममा आयोजना गरिएको छ । रेडियो बुलेटिनको सभाहलमा भएको कार्यक्रममा रेडियो बुलेटिनको प्रबन्ध निर्देशक अनिलकुमार खातिको अध्यक्षता रहेको थियो ।
छलफलमा सहभागी व्यवसायीहरुले सबैको लागि अहिले रोगसँग लढ्नुपर्ने बेलामा यसरी कर, राजस्व लगायतका समस्यामा अल्झिनुपर्ने अबस्था आउनु राम्रो नभएको र राज्य नयाँ हिसाबले सबै व्यवसाय बचाउनु लाग्नुपर्ने बताएका छन् ।
त्यस्तै, छलफलको निष्कर्ष निकाल्दै मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले बन्दाबन्दी (लकडाउन) को समयलाई शून्य समय मानेर अगाडि बढ्नुपर्ने र राज्यले समाधानका लागि प्रयास थाल्नुपर्ने बताए । उनले पत्रकार महासंघले केन्द्रियस्तरमा यस्तो छलफल चलाउन सक्ने हो भने यसको निराकरण चाडै निकाल्न सकिने पनि बताए ।
यसैगरी कार्यक्रममा रेडियो बुलेटिनका प्रबन्धक/निर्देशक खातिले रेडियोले अबको दिनमा प्रदेशस्तरीय रुपमा यस्तो छलफल चलाउने प्रतिबद्धता गर्दै आफुहरु सधै समाजकै बिषयलाई उठाईरहेको र आगामी दिनमा पनि समाजकै बिषय उठान गर्नेतर्फ लाग्ने बताए ।
मसान उपासकले सहजीकरण गरेका उक्र कार्यक्रममा उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नारायणी यातायात कम्पनी प्रा.ली.का अध्यक्ष गोकर्ण पराजुली, मकवानपुर सार्वजनिक यातायात प्रालीका अध्यक्ष ज्ञानेन्द्र कार्की, होटल एशोसियन मकवानपुरका अध्यक्ष शङ्कर लाल श्रेष्ठको सहभागीता रहेको थियो ।
यसैगरी बैकर्स एशोसियसन मकवानपुरका सचिव तथा सेन्चुरी बैकका प्रमुख सुहित शाक्य, राजस्व कार्यालय मकवानपुरका प्रमुख सन्तबहादुर ढकाल, यातायात व्यबस्था कार्यालय मकवानपुरका निमित्त प्रमुख सुरेश चपाई, घरेलु तथा साना उद्योगका कार्यालयका प्रमुख तथा उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालयका प्रतिनिधी जगन्नाथ दाहाल र भौतिक पूर्वधार मन्त्रालयका यातायात विभाग प्रमुख नविन कुमार सिंहको पनि सहभागीता रहेको थियो ।
