युरिया मल नपाएर रित्तै फर्किए मकवानपुरका कृषक, उपमेयरलाई दिए मकैको बोट
मकवानपुर । मकवानपुरमा युरिया मलको अभाव भएको छ । मकैमा मल हाल्ने समयमै अभाव भएपछि कृषक समस्यामा परेका छन् ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल उपलब्ध गराउन नसकेकोले कृषकलाई मल दिन नसकिएको कृषि सहकारीहरुले बताउँदै आएका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ निवासी ब्रबिम बर्तौलाले पटक–पटक हेटौँडाका कृषि सहकारीमा मल पाइने आशले मल किन्न लाइन बसेपनि हालसम्म मल पाउन नसकेको गुनासो गरेका छन् ।
उनी त प्रतिनिधि पात्र मात्रै हुन् मकवानपुरका विभिन्न स्थानीय तहका कृषकहरु आज विहानै हेटौँडा बजारका कृषि सहकारीहरुमा मल पाइने आशले लाइन बसेका थिए । तर उनीहरुले मल भने पाएनन् ।
मकैमा मल हाल्न नपाएपछि यस वर्ष उत्पादन घट्ने चिन्ता कृषकहरुको छ ।
मल बिक्री वितरण गर्दै आएका हुप्रचौर कृषि सहकारी संस्थाका संचालक सुजल श्रेष्ठ मकै कृषकहरू दैनिक युरिया मलको खोजीमा आउने गरेको बताउँछन् । किसानको मागअनुसार मल नआएकोले कृषकहरूलाई मल दिन नसकेको उनको भनाई छ ।
सरकारविरुद्ध नाराबाजी
मल किन्नका लागि कृषि सहकारी अगाडि घण्टौँ लाइन बसेका कृषकहरु मल नपाएपछि आक्रोशित बनेका छन् ।
कृषकलाई सिजनमा मल उपलब्ध गराउन समेत नसकेको भन्दै उनीहरुले हेटौँडाको बुद्धचोकमा नाराबाजी गर्दै सरकारको विरोध गरेका छन् ।
मकैमा मल हाल्न नपाउँदा मकै नफल्ने र आफुहरुको गाँस काटिने कृषकहरुको भनाई छ । उनीहरुले आज विहान प्ले कार्डसहित प्रदर्शन र नाराबाजी समेत गरेका हुन् ।
हेटौँडा उपमहानगरपालिकामा डेलिगेशन
मल नपाएर आक्रोशित भएका कृषकहरु हेटौँडा उपमहानगरपालिकामा डेलिगेशनमा पुगे ।
हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको नेतृत्वमा कृषि सहकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको टोली छलफलमा सहभागि थियो ।
छलफल पछि भोलिसम्म ३ सय २० बोरा मल झिकाइने उपमेयर मिना लामाले आश्वासन दिएकी छिन् ।
तु खबरसंग कुराकानी गर्दै उपमेयर मिना लामाले भनिन् ‘ मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन् । हामीसमक्ष गुनासो आएपछि हामीले समाधानको लागि सानै भएपनि प्रयास गरेका छौँ ।
यो राज्यकै समस्या भएकोले सबैतहबाट यसको निकास खोजिनु आवश्यक छ ।’
उनले किसानहरुको समस्या समाधानका लागि सम्बन्धित सबै सरोकारवाला निकायहरु गम्भीर हुनुपर्ने बताईन् ।
