नवसन्यासको निम्तो तिमीलाई  !

सन्दिप न्यौपाने / मकवानपुर
२०७७ जेष्ठ २४,शनिबार ०९:३४

लामो समयपछि तिमीलाई भेट्न मन लाग्यो । भिडभाडबाट साह्रै थाकेपछि तिमीलाई फोन गरेँ – कहाँ छौ भनेर तिमीले पनि भेट्ने ठाँउ बतायौ । ब्यग्रतापूर्वक गन्तब्यमा पुगेँ, भेट भइहाल्यो । लाग्दै थियो म प्रति तिमिले कस्तो प्रतिक्रिया जनाउँछौँ भनेर ! उही कपडा, उही चेहेरा, तिमीलाई टाढाबाट पनि सजिलै चिन्न गाह्रो नपर्ने । तिमीले हाइ हेल्लो केहिपनि भनिनौ र मैले पनि । भेट्ने बित्तिकै प्रेमतर्फ सँकेत गर्दै तिमीले आमालाई सोध्यौ सायद एउटा सहज तरिका थियो बोल्नका लागि । त्यो बोलीमा योजना थिएनन् सायद प्रेमको पहिलो देबी आमानै भएर होला । पहिले जस्तैनै मेरो परिकल्पनामा तिम्रो चित्र छँदै थियो । मैले चाहेकै अपेक्षामा प्रेमलाप सुरुवात गरेँ ।

प्रेममा घमण्ड, इष्र्या, रिष केहिपनि नहुने भएर होला त्यती सहज भएको । अचानक, मैले तिम्रो स्त्रीत्व झल्कने नेपाली पतिब्रता नारीहरुले प्रयोग गर्ने आभुषण नपहिरिएको देखेपछि सोधे अन्यथा नमान ल ! तिमी नबुझ्ने थिइनौ र प्रश्न उल्टै मलाइ गर्यौ त्यसमा तिम्रो प्रेम झल्कदै थियो साथमा केहि बिष्मय पनि !

पहिले बियोग पीडा बन्थ्यो तर अहिले असिम आनन्दको प्याला बनेको छ । तथापी मनका तलाउमा भरिएको जिज्ञासाहरु माझ्ने साझा चौतारी भयो यो भेट । सायद उस्तै सहज वाताबरणमा तिमी सँग मेरो भेट हुँदो हो त दिल खोलेर रोदनका घैलाहरु सक्काउदथे होला तर जहाँ तहाँ कहाँ आफ्नो बह कहन सकिँदो रहेछ र ? भेट्ने बित्तिकै तिमीलाई आलिंगन गर्न र चुम्न मन पनि त थियो । लौकिक प्रेमनै सहि कम्तिमा प्रेमको रसको बर्षातको अनुभूति त भयो । प्रेममा मात्र जन्म र पुर्नजन्मको भाव पैदाहुन्छ यो किन हुन्छ ? सायद त्यसैले हुन्छ कि प्रेमले मात्र नदेखिएको जीवन देख्नसक्छ ।

त्यसैले महाँपुरुषहरु भन्न नछुटाउँदा रहेछन – आखाँ छ भने हेर , कान छ भने सुन, संबेदनशीलता छ भने महशुस गर, जिब्रो छ भने स्वाद लिउ, नाक छ भने सुगन्ध लिउ । के हामीसंग हेर्ने आँखा, सुन्ने कान, जिब्रो छ, नाक छ ? छैन । आफ्नी आमालाइृ जती बर्ष पछि आफ्नो सन्तानको भेट गराए पनि प्रेमका आखाँबाट, छामेर, सुँघेर जसरी पनि चिन्छन् । हो, यहि त हो असली प्रेम । त्यसैकारण प्रेम गर्नेहरुलाई कसैले जित्न सक्दैन किनकी जन्मौँ जन्मको शक्तिको प्रवश्फुटन जे छ । यी बिचारहरुसगं खेलिरहदाँ यो क्रन्धन लाग्ला तर होइन् । शरिर केन्द्रित प्रेमनै सहि कम्तिमा प्रेमको सुत्रपात त भयो ।

शरिरबाट गरिने प्रेमले मनुष्यलाई बास्तबिक प्रेमतर्फ ईशारा गर्दै छ संसार त्यो फुल्न लागेको कोपिला मार्न तर्फ उद्यत छ कसरी हामी प्रेम फुलाउन सक्छौ ? सक्छौ यसरी की कम्तिमा आमाको आँखा जन्मौ जन्मलाई चिन्ने प्रमाण हो । असली प्रेमको आँखा हेर्नुहोस् त सबै किन कसैलाइ मन पर्दैन ? यसकारण पर्दैन कि प्रेम एक दिनको छैन यो अन्नत छ । आमालाई प्रेमको बापत केहि पाउनु छैन । प्रेम त शाश्वत छ तसर्थ प्रेमबाट मात्र बिश्बबन्धुत्वको श्रीगणेश हुन्छ । जब आमा प्रेमका महिमा हुन भने सबै आमा प्रेम हुन् , सबै आखा प्रेम हुन, सबै सत्य हुन यसर्थ यो प्रमाणित हुन्छ कि अशली प्रेम हार्दिकताको पराकाष्ठा हो ।

प्यारु तिम्रो सम्झनामानै सहि मेरो मनका अन्तरकुन्तरमा रहेका शब्दहरु लोरी गाँउदै छन् र म त्यही लोरीमा लहराउँदै आफुलाई बिलय गर्दै छु र आफुलाई रसले भर्दै छु । तिमी सँगको एक पल पनि मलाई हार्दिकताको यात्रामा लैजाने बिशाल उत्प्रेरणा बन्दछ । तिम्रो जीवनको किताबले तिमीलाई के पढाउँदै छ त्यो त मलाइ थाहा छैन तर अब तिम्रो अशली पुस्तकको बिमोचन गर्ने दिन आएको छ ।
लाग्ला तिमीलाई कि त्यस्तो कृतिको रचनानै मैले के गरें र तर प्यारु तिमीनै त त्यो अमुल्य पुस्तक हौ जस्ले कसैलाई जन्मौँ जन्मको पाठ सिकाउन सक्यो ।

यती धैरे बसन्तको यात्रा सकिएपछि पछाडी फर्किएर हेर्ने दिन आएन र ? यात्रा गर्दै अतिथलाई भुल्दै अब कति गल्ती गर्ने ? हिजो गरेको गल्ती किन फेरी दोहोर्याउने ? अब बेला भैसक्यो कि तिमीले त्यस बिगतलाई फर्किएर हेर्ने । कती जन्म यस्तै गल्तीमै त बित्यो अब तिमीले कसरी गल्ती गर्न सक्छौ ? तिम्रो छुट्टै गीता छ तिम्रो छुट्टै प्रेम छ हो त्यही गीता र त्यही प्रेमको बिमोचन गर्नुपर्छ । जसरी बिज टुटेर कोपीला हुन्छ, कोपिलाबाट बिरुवा बन्छ बिरुवाबाट बृक्ष बन्छ बृक्षबाट फल फल्छ र असंख्य बिजहरु पैदा गर्छ, तिमी त्यही असंख्य बिज पैदा गर्ने क्षमता भएकी पृथ्वी हौ ।

जब बिज आफैँले आफ्नो सम्भाब्यतामा प्रश्न गर्दछ अनि कसरी कोपिला हुन्छ, कसरी बिरुवा हुन्छ, कसरी बृक्ष हुन्छ, कसरी फल दिन्छ ? धैरे सेकेण्ड बिते, धैरे मिनेट बिते, धेरै घण्टा बिते, धेरै दिन बिते, धेरै हप्ता बिते, धेरै महिना बिते, धेरै बर्ष बिते अनि धेरै जन्म बिते ! बुद्ध आए, नानक आए, जिसस आए, झेन आए, सुफी आए, गोरख आए, अष्टाबक्र आए, रहस्यका आकाशहरु आए धेरैले मानवीय सम्भावनाको खजाना देखाए त्यही त रहेछ असली समाचार ।

संसारको भोग बिलासमा रम्दारम्दै तिमी बुद्ध बन्न सक्नु, मीरा बन्न सक्नु, महाबीर बन्न सक्नु, जिसस बन्न सक्नु, पल्टु बन्न सक्नु के, जीवनको कायापलट नभए के हो त ? जिबन नभए के हो त ? प्रेम नभए के हो त ? तिमी जान एकदिन दुख सम्झदा आनन्द उठ्ने छ र सुख सम्झेर तिमी रुने छौ । तिमी जन्मसंगै के लिएर आयौ भन त ? केहिपनि लिएर आएनौ सिबाय तिमीमा भएको सम्भावना बाहेक । यो धर्तीलाई तिम्रो खाँचो थियो नत्र तिमी किन यो धर्तीमा पाइला राख्नु पथ्र्यो र ? हामीले जानेनौँ । त्यो बेलामा पनि थियो, हामीले जानेका छैनौँ तैपनी जीवन जबन छ र हामीले जान्ने छैनौ तैपनी जीवन हुनेछ । त्यसो भए हामी किन जीवन नबुझी जीवनको भुमरीमा चक्कर मारिरहनु ? तिम्रो त्यो प्रेम, श्रद्धा, भक्ति, प्यास, धैर्यता, अभिप्सानै जीवन जान्ने योग्यता हुनेछ । तिमी पहिले पनि थियौ, अहिले पनि छौ र पछि पनि हुनेछौ । के तिमीले मेरो आँखामा त्यो जन्माँै जन्मको प्यास देखिनौ र ? हो मैले भेटमा पनि त भनेँ कि जन्म जती भए पनि आँखाको भाव मर्दैन मात्र शरिर परिवर्तन होला । अब जीवन हुनुको मज्जा लुट्ने दिन आएको छ, अब सिर्जना गर्ने दिन आएको छ, अब प्रेम बाँड्ने दिन आएको छ, अब परम उत्सवको दिन आएको छ, अब सत्यको दिन आएको छ । जुन प्रेम मैले तिमीलाई गरें जुन मलाई तिमीले गर्यौ त्यो एउटा उदाहरण मात्र रहेछ प्यारु ।

 

अब म हरेक स्त्रीमा तिमीलाई देख्न सक्छु, हरेक आमामा म मेरो आमा देख्न सक्छु, हरेक देशलाई म मेरो देश देख्न सक्छु । तर त्यो तिम्रै कृपा त हो । म त केहिपनि गर्न सक्दिन तिमी बिना तर तिम्रो शरिरको माग मैले गरिन । हर पल हर क्षण म तिमी सँगै त हुन्छु तिमीले मात्र हेर्न र चिन्न मात्र सक्नु पर्दछ । तिमीसंग त्यो संवेदनशीलता हुनुपर्दछ । त्यही त तिमीले मलाई सिकायौ । आफ्नो मृत्युसंगको साक्षातबाट मात्र तिमी जीवनसंग परिचित हुनेछौ । जसले बाँचेर पनि मर्न जान्यो उस्ले न जीवन जान्यो । हामी न मर्न जान्दछौँ न बाच्न जान्दछौँ । तिम्रो मृत्यु त भैसक्यो अब कुन मृत्युको कुरा गर्छौ ? अब मात्र जीवनकोे कुरा गर । जुन दिन तिमीले मृत्युलाई साक्षात्कार गर्ने छ्यौ त्यो दिन जीवनलाई साक्षात्कार गर्नेछौ । मृत्यु अज्ञानताको नाम हो । तिमी थियौ, छौ भन्ने तिम्रा आँखा साछि छन् भने तिमी कसरी मृत हौ ?
प्रिय, मेरा हजार अनि करोडौँ प्रश्नहरुको उत्तर एउटै हुनेछ जुन दिनको प्रेमको ताला खोलिने छ र त्यो दिन आएको छ । म तिमीलाई त्यो जीवन खोल्ने साँचो भेट्टाउन सहयोग गर्दैछु । मात्र तिम्रो जिजिबिसा ,स्वाध्यायको, अन्तरयात्राको खाँचो छ । अन्यथा म त्यही ब्यक्ती हु जस्लाई तिमीले पहिले पनि भुल्यो, अहिले पनि भुल्यौ र पछि पनि भुल्ने छौ । यही जन्म एक अवसर छ तिमीलाई मसंगको परिचयको लागि ।

अब जन्म र मृत्युको श्रृङ्ख्लानै कहाँ बाँकि रहला र ? तिमीले त्यो शिखरको यात्रा जुन दिन गर्ने छौ त्यस दिन म तिमीसंग हुनेछु र अस्तित्वमा एउटा पे्रम फुल्नेछ । बसन्त छाउँने छ । सुवास आउने छ । अनि त्यहा रोदन हाँसो हुनेछ, हाँसो रोदन हुनेछ । संगीत देखिने छ प्रकाश सुनिने छ । त्यहि संगीत र प्रकाशले हामीलाई कहिल्यै पनि छोड्ने छैन । म त्यही दिन भेट्दै छु, म आनन्द देख्दैछु, म उत्सव देख्दैछु, म प्रेम देख्दै छु, म हरियाली देख्दै छु, म अन्नत सम्भावना देख्दै छु, तिमीलाई मसंग देख्दै छु ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*