वीरगञ्जको मुख्य सडकमा डोजर, अतिक्रमित संरचना हटाउन अभियान सुरु
काठमाडौं ।लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तार कार्य आइतबार बिहानैदेखि सुरु गरिएको छ। सडक विभाग र सडक डिभिजन कार्यालयको समन्वयमा वीरगञ्ज महानगरपालिका र स्थानीय प्रशासनको सहयोगमा सडक क्षेत्रभित्रका संरचनामा डोजर चलाइएको हो।जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार बैशाख ६ गते बिहान साढे ४ बजेसम्म सडक मापदण्डभित्र पर्ने घर, पसल तथा अन्य संरचना खाली गर्न आग्रह गरिएको थियो। सोही सूचनापछि आइतबार बिहानैदेखि अतिक्रमित संरचना हटाउने काम सुरु गरिएको हो।सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल द्वारा जारी सूचनामा त्रिभुवन राजपथ अन्तर्गत नेपाल–भारत मितेरी पुल देखि गण्डक चोकसम्म सडकको केन्द्रबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गर्नुपर्ने उल्लेख गरिएको छ।
सडक विस्तारका लागि एकैसाथ पाँच स्थानबाट काम थालिएको छ। १३ वटा डोजर, जेसीबी र एक्साभेटर प्रयोग गरी पावरहाउस, घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै भन्सार क्षेत्रसम्मका संरचना हटाउन थालिएको छ। सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।यो विस्तार कार्य सर्वोच्च अदालत को २०८१ फागुन २८ गतेको फैसलापछि सम्भव भएको हो। न्यायाधीश विनोद शर्मा र महेश शर्मा को संयुक्त इजलासले मेनरोड विस्तारविरुद्ध दायर रिट खारेज गरेपछि परियोजनाले कानुनी बाटो खुलाएको थियो।वि.सं. २०६९ सालमै सरकारले सडकको दायाँ–बायाँ २५/२५ मिटरभित्रका संरचना हटाउने निर्णय गरेको थियो। तर स्थानीयवासीले ‘वीरगञ्ज बजार बचाउ संघर्ष समिति’ गठन गरी आन्दोलन गर्नुका साथै अदालतमा मुद्दा दायर गरेपछि काम रोकिएको थियो।
पछिल्लो समय वीरगञ्ज महानगरपालिकाले पनि सडक विस्तारका लागि तयारी तीव्र बनाएको थियो। महानगर प्रमुख राजेशमान सिंह ले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतको आदेशअनुसार सडक विस्तार कार्यमा सबै निकायसँग समन्वय भइरहेको जानकारी दिएका छन्।यसअघि पटक–पटक सूचना जारी गरिए पनि अटेर गरिँदै आएको थियो। गण्डक चोकदेखि मितेरी पुलसम्म करिब तीन किलोमिटर सडकखण्ड २५/२५ मिटर फराकिलो बनाउने लक्ष्य राखिएको छ। लामो समयदेखि अस्तव्यस्त रहेको यो क्षेत्रमा सडक विस्तारपछि ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।
