निर्माणमा लापरबाही गरेपछि काठमाडौं महानगरपालिकाद्वारा ५० हजार जरिवाना

तु खबर संवाददाता
२०८३ बैशाख ७, सोमबार १२:४७

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले बसुन्धरा नदी किनारमा रिटेनिङ पर्खाल निर्माणको जिम्मा पाएको टक्सार–रानीवन जेभीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

पर्खाल निर्माणका क्रममा जग कमजोर बनाइएको, सिमेन्ट प्रयोग गर्नुपर्ने स्थानमा माटो प्रयोग गरिएको तथा पुराना ढुंगा प्रयोग गर्दा त्यसमा टाँसिएको माटोसमेत नपखाली प्रयोग गरिएको पाइएपछि जरिवाना गरिएको वडा नम्बर ३ का अध्यक्ष एवं महानगरपालिकाको विपत् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।

कमसल निर्माण भएको भन्दै स्थानीयवासीले गुनासो गरेपछि महानगरले निर्माणस्थलको अनुगमन गरेको थियो । त्यस क्रममा निर्माण पक्षलाई बोलाएर निर्माण सामग्री र कार्यप्रक्रियाबारे जानकारी लिइएको थियो ।

छलफलका क्रममा प्रोजेक्ट म्यानेजरले बालुवामा माटो मिसिएको, पुराना ढुंगा राम्रोसँग नपखाली प्रयोग गरिएको जस्ता कमजोरी स्वीकार गरेपछि जरिवाना गरिएको थापाले बताए ।

यसैबीच, सार्वजनिक निर्माण विभागका इन्जिनियरहरूले रिटेनिङ पर्खाल निर्माणस्थलबाट निर्माण सामग्रीको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएका छन् । परीक्षण प्रतिवेदन आएपछि स्थानीयको गुनासो र निर्माण कार्यको गुणस्तरका विषयमा थप निर्णय लिइने महानगरले जनाएको छ ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०८४ साल असोज ३० गतेभित्र पर्खाल निर्माण सम्पन्न गर्नुपर्नेछ ।