सीमा नाकामा खटिएका सुरक्षाकर्मी पैसाको लोभमा परेका त होइनन् ?

दिनेश नेपाल/काठमाडौँ
२०७७ बैशाख ३१, बुधबार १६:४९

कोरोना संक्रमणको जोखिम बढेसंगै संघीय सरकारले गत चैत ११ गतेदेखि देशैभर लकडाउन गरेको छ । लकडाउनका कारण जनता समस्यामा छन् । अर्थतन्त्र धरासायी बन्दै गइरहेको छ ।

यस महामारीको घडीमा सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गरिरहेको पहल कदमी पर्याप्त नभएको महशुस भएको छ ।

परीक्षणको दायरा बढानुपर्ने, सीमा नाकामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने देखिन्छ । कोरोनाबाट प्रभावित अन्य मुलुकहरुले पनि जतिसक्दो धेरै कोरोना परीक्षण गर्ने र आवश्यक स्वास्थ्य उपचारको दायरा बढाएकै कारण केही हदसम्म नियन्त्रण गरिसकेका छन् ।

उद्गम स्थलको रुपमा चिनिएको चीन, हाहाकार मच्चाएको कोरीयालगायतका देशहरुले कोरोना नियन्त्रणमा लिइसकेको अवस्था छ ।

तर नेपालमा भने सरकारको ध्यान लकडाउन बढाउनेतर्फ मात्रै केन्द्रित छ । कोरोना परीक्षणको दायरा बढाउन सकेमात्र संक्रमितहरुको पहिचान हुनेछ नत्र भित्रभित्रै भुसमा सल्किएको आगो जस्तै कोरोनाको संक्रमण फैलनसक्ने जोखिम देखिन्छ ।

छिमेकी मुलुक भारतबाट नेपाली र भारतीय नागरिकहरु नेपाल प्रवेश गरिरहेका छन् । सीमा नाकामा कडाई नगरिँदा भारतबाट संक्रमित भित्रिने क्रम जारी छ । सुरक्षाकर्मीकै आँखा अगाडिबाट कसरी मानिसहरु नेपाल भित्रिरहेका छन् ? नागरिकहरुको प्रश्न त्यसतर्फ छ ।

कतै सुरक्षाकर्मीहरु पनि पैसाका लोभमा परेका त छैनन् ? शंका नगर्ने अवस्था छैन ।

सीमा नाकामा सरकारको ध्यान पुगेको छैन । एउटा जिल्लाबाट अर्को जिल्लामा सहजै जान दिइने गरिएको छ । जसका कारण संक्रमण फैलने जोखिम् बढेको छ । संक्रमण फैलिरहेको पनि छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गर्ने पास पनि नेता तथा कार्यकर्ताको आफ्ना मान्छे वा पहुँचवालालाई मात्रै दिइने गरिएको गुनासो छ । गरिब र आवाज विहिनहरुलाई घरमा थुन्ने अनि पहुँचवालालाई मनोमानि तरिकाले घुम्न दिने यो कस्तो न्याय हो ? कोरोनाले धनी पहुँचवाला भन्दैन, नेता र पहुँचवालाले पनि कोरोनाको संक्रमण फैलाउने संभावना उत्तीकै हुन्छ । सरकार र स्थानीय प्रशासन त्यसतर्फ पनि गम्भीर हुनु आवश्यक छ ।

त्यसो त लकडाउनको पूर्ण पालना गराउन सरकारले सकेको छैन । लकडाउन उल्लंघन गर्दै जथाभावी मानिसहरु उपत्यका भित्रिरहेका छन् उपत्यका बाहिरको अवस्था पनि त्यस्तै छ । जसको कारण उपत्यकामा संक्रमणको जोखिम दिनानुदिन बढीरहेको छ । आजसम्म नेपालमा २ सय १९ जनामा यसको संक्रमण पुष्टी भइरसकेको छ ।

मंगलवार मात्रै काठमाडौंमा एक र भक्तपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो । विभिन्न जिल्लाका मानिसहरुलाई यसरी काठमाडौँमा प्रवेश दिइने हो भने कोरोनाको केन्द्रविन्दु काठमाडौँ नबन्ला भन्न सकिन्न । सरकारलाई मेरो अनुरोध छ, जतिसक्दो कोरोनाको परीक्षणको दायरा बढाउनुपर्यो ।

लकडाउनको पूर्ण पालना गराउन, नागरिकलाई सचेत गराउन र गरिब जनताको समस्या समाधान गर्नेतर्फ सरकार उदाशिन बन्नु हुँदैन । परीक्षणको दायरा बढाएर स्वास्थ्य सेवा प्रवाह गर्न सरकार सक्रिय हुनुपर्छ । लकडाउनमात्रै समस्याको समाधान होइन । सरकारको अहिलेकै गतिविधिको मूल्याङ्कन गर्ने हो भने नेपालमा लकडाउन बर्षौँ लम्बिने देखिन्छ ।

लकडाउन त रोकथाम मात्रै हो, कोरोना भाइरस निर्मूल पार्न परीक्षणको दायरा बढाएर स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्छ । यसमा सरकार हिच्किचाउनु हुन्न । नत्र नेपालमा पनि अमेरिका र इटालीमा जस्तै भयावहको स्थिती नहोला भन्न सकिन्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*