नेकपा विवादः सचिवालयको एजेन्डा नै ‘स्थायी कमिटी बैठक’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बालुवाटारमा आफू निकटका सांसदहरूसँग अति लचक भएर अध्यादेश फिर्ता गर्दा पनि नैतिकताको कुरा उठाउँदै राजीनामा मागेर षड्यन्त्र गरिएको गुनासो सुनाए ।
‘मेरो भेटघाटको ७० प्रतिशत समय यिनीहरू (नेकपा सचिवालयका नेता) को गुनासो सुन्न र चित्त बुझाउनमै गयो, १० थरी कुरा गरेर मलाई अघि बढ्न पनि दिएनन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद महेश बस्नेतले भने, ‘हाइलेभलमा कुरा गर्दागर्दै तपाईंहरूसँग भेट्न पनि पाइएन, अब तपाईंहरूको सुझावअनुसार चल्छु ।’
बस्नेतका अनुसार उक्त छलफलमा उपस्थित अधिकतर सांसदले कत्ति पनि नझुकेर जतिसुकै कडा कदम चाल्नसमेत पछि नपर्न सुझाव दिएका थिए । यता वरिष्ठ नेता माधव नेपाल समूहसँगको छलफलमा कुरा नमिलिरहेको र उता सांसदहरूको आडभरोसा रहेका बेला नेकपा अध्यक्ष ओलीले मंगलबार बोलाउने भनिएको पार्टी सचिवालय बैठकसमेत आह्वान गरेनन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री भेट्न पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि ओलीले यही आशयको कुरा गरेका थिए । उनले दाहालसँगको भेटमा कसैको दबाब आउँदैमा आफूले सरक्क कुर्सी छाडेर नहिँड्ने बताएको उनीनिकट स्रोतको भनाइ छ । ‘पहिले अध्यादेश फिर्ता लिनुस् भन्ने, पछि फेरि राजीनामा दिनुस् भन्ने,’ ओलीको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘यो कहाँको नैतिकताको कुरा भयो, तपाईंहरूले मिलेर मलाई हटाउन षड्न्त्र गर्नुभएको हो ।’
करिब २ घण्टा चलेको छलफलमा प्रधानमन्त्री ओलीले विषयवस्तु अलिकति मत्थर नहुँदासम्म पार्टीका कुनै पनि संगठनको बैठक आह्वान नगर्न प्रस्ताव गरेका थिए । दाहालले भने बैठक बोलाउन दबाब नै आएकाले एकछिनका लागि भए पनि आह्वान गर्नुपर्ने तर्क राखेका थिए । प्रधानमन्त्री ओलीलाई भेट्नुअघि बिहान दाहाल र वरिष्ठ नेता नेपालका बीचमा नेपाल निवास कोटेश्वरमा छलफल भएको थियो । उक्त छलफलमा नेपालले प्रधानमन्त्रीले आफूले सृजना गरेको समस्याको निकास आफैंले दिनुपर्ने बताएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
